लोककल्याणकारी राज्य निर्माणको योजना ल्याएका छौँ : महासचिव पोख्रेल
दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले एमाले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताएका छन् । रुकुम–दाङ सम्पर्क समूहले मंगलबार घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताएका हुन् ।
‘०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सयबाट सुरु गरेको वृद्ध भत्ता अहिले ४ हजार प-याएका छौ, एकल महिला, अपाङ्गता हुँदै सुत्केरी भत्तासम्म उपलब्ध गरायौँ,’ ‘महासचिव पोख्रेलले भने, ‘अब एमाले सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउँदैछौँ । महिनावारी समस्याका कारण पाठेघर समस्याबाट रोक्न हरेक वर्ष एकमुष्ट एक हजार पाँच सय खातामै राखिदिनेछौँ ।’
महासचिव पोख्रेलले गरिब परिवारका लागि बिजुली र खानेपानी पनि निःशुल्क गरिदिने बताए । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै पोख्रेलले भने, ‘गरिब परिवारको घरमा पनि बिजुली पु-याउँछौ अनि हिउँद ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउँछौँ । त्यस्तै हरेक घरमा धारा पु-याउँछौ र पानी पनि निःशुल्क उपलब्ध गराउँछौँ ।’
प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले त्यसका लागि एमाले सरकार बन्न जरुरी रहेको बताए । उनले एमालेले राज्यको आम्दानी र जनताको आम्दानी पनि बढाउन थुप्रै कार्यक्रम अघि सारेको बताए । जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवश्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्त्वकासाथ अघि सारेको उल्लेख गरे ।
प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भने, ‘राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकको विषय हो ।’
एमाले सरकार ढलेपछि बनेको सरकारले झन् अव्यवस्था, बेथिति, भ्रष्टाचार र कुशासन मौलाएको भन्दै मङ्सिर ४ पछि जनादेशको सरकार बनाउनुपर्ने बताए । सो अवसरमा बोल्दै तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढाले समाजको विकास, सङ्ग्रहालय निर्माण, मगर समुदायको संस्कार, संस्कृतिको संरक्षण तथा भुम्याँ पर्वमा सार्वजनिक बिदाको व्यवस्था गर्न महासचिव पोख्रेलसँग माग गरे ।