संन्यासबाट फर्किएका मेस्सीमाथि अर्जेन्टिनाको भरोसा
लगातार उपाधिको मुखमा पुगेर पनि एउटै टिमसँग पराजित भएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले राष्ट्रिय टिमबाट संन्यासको घोषणा गरे । ६ वर्ष अगाडिको कुरा हो । २०१६ मा चिलीसँग पराजित हुँदै अर्जेन्टिना कोपा अमेरिकाको उपाधिमा चुक्यो ।
अर्जेन्टिनाले उपाधि नजित्दा सबैभन्दा दुखी मेस्सी बने । सहनै नसक्ने पीडा महसुस गरे। देशका लागि केही गर्न नसकेको पश्चात्तापमा उनले अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यासको निर्णय सुनाए । उनको संन्यासले फुटबल जगतमा तरङ्ग ल्यायो । शालीन मेस्सी आफ्नै लागि पनि यो निर्णय कठिन थियो । तर उनले आबेसमै घोषणा गरिदिए । उनलाई संन्यासबाट फर्काउनका लागि सिङ्गो अर्जेन्टिना लाग्यो । राष्ट्र प्रमुखले नै उनलाई अनुरोध गरे । अन्ततः मेस्सी संन्यास फिर्ता लिएर राष्ट्रका लागि खेल्न तयार भए ।
पटक पटक फाइनलमा पुगेर पनि उपाधि चुम्न नपाएका मेस्सीसँग यस पटक पनि उनका समर्थक र देशले उपाधिको अपेक्षा गरेका छन् । प्रतिस्पर्धी देशहरू नै उनले उपाधि जितुन् भन्ने चाहन्छन् । उनको जितमा खुसी हुने धेरै प्रतिस्पर्धी छन् । यसको उदाहरण हो २०२१ को कोपा अमेरिकाको उपाधि । त्यतिबेला फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडेका थिए । ब्राजिललाई १-० ले स्तब्ध पार्दै अर्जेन्टिनाले मेस्सीको कप्तानी पहिलो पटक उपाधि उचाल्यो ।
यो पनि : विश्वकप अर्जेन्टिनाले जित्छ !
उता मेस्सीकै क्लबका सहकर्मी नेइमार हारको पीडामा थिए । तर उनले केहीबेरको पीडापछि मेसीसँग गएर उनको खुसीमा खुसी साटे । यसले पनि मेसीको जितमा उनकै प्रतिस्पर्धी खुसी हुन्छन् भन्ने देखाउँछ । यस पटक पनि धेरैले अर्जेन्टिना प्रमुख दाबेदार मान्छन् ।
लगातार तीन वटा विश्वकपमा अनुमान मिलाउँदै आएको इए स्पोर्टसले पनि मेस्सीको टिम अर्जेन्टिनाले उपाधि जित्ने अनुमान गरेको छ । यसले उनका समर्थकलाई हौसला मिलेको छ । स्पेनका मिडफिल्डर पेड्रिले केही दिन पहिले आफ्नो देशभन्दा बढी विश्वकप विजेताको हकदार अर्जेन्टिना भएको अन्तर्वार्ता दिए । उनले स्पेनले नजिते यस पटकको उपाधि मेस्सीले जितिदिए हुन्थ्यो भन्ने आशय देखाए। धेरै फुटबल स्टारहरू यही चाहन्छन्, सकेसम्म आफैँ जितउँ, नभए मेस्सीले उपाधि जितुन् ।
अर्जेन्टिनी कप्तानले यसअघि नै यो विश्वकप आफ्ना लागि अन्तिम हुने बताइसकेका छन् । ७ पटकका बालोन डेओर विजेता मेस्सी ३५ वर्षका भए । अर्को विश्वकपमा उनी ३९ वर्षका हुन्छन् । अहिले पनि ३९ वर्षका केही खेलाडीले विश्वकप खेल्दैछन् । तीनै मध्य डानी अलभेस मेसीकै टिममेट हुन् । जो बार्सिलोनामा केही वर्ष सँगै फुटबल खेले । ठूला उपाधि सँगै उचाले। ब्राजिलका डिफेन्डर अलभेस ३९ वर्षको हुँदा पनि विश्वकपका लागि अहिले ब्राजिलको टिममा छनोट भएका छन् ।
तर मेस्सी अर्को विश्वकप खेल्न आफू फिट रहने मान्दैनन् । मेस्सी ५औँ पटक विश्वकप खेल्दैछन् । सन् २००६ को विश्वकपमा उनले डेब्यु गरेका थिए । त्यसयता अर्जेन्टिना लगातार छनौट हुँदै आएको छ । तर २०१४ मा फाइनलसम्म पुगेको अर्जेन्टिनाको उपाधि उचाल्ने सपना भने अधुरै छ । अहिले पनि धेरैले फुटबलको महान् खेलाडी मेस्सीलाई मान्छन् । जसले व्यक्तिगत र क्लब फुटबलमा सबै कुरा जितेका छन् । उनले जित्न नसकेको भनेको एउटै उपाधि विश्वकप हो । उनका समर्थक र उनको देश यस पटक उनीबाट विश्वकपको उपाधि अपेक्षा गर्छन् ।
यसअघि अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि उचालेको छ । १९७८ मा नेदरल्याण्डलाई पराजित गर्दै र १९८६ मा जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसबाहेक तीन पटक फाइनलमा पुगेर उपाधि चुम्न चुक्यो। त्यसमध्ये दुई पटक जर्मनीसँग हार्यो । पहिलो विश्वकपमा उरुग्वेसँग पराजित भयो । अहिले ३५ खेलदेखि अर्जेन्टिना अपराजित छ । ब्राजिललाई हराउँदै कोपाको उपाधि जितेपछि झनै उत्साहित भएको छ ।
अर्जेन्टिना रहेको समूहमा पोल्याण्ड, साउदी र मेक्सीको रहेका छन् । यसअघिको विश्वकपमा समूह चरण पारे गरे पनि अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना बाहिरिएको थियो । यसपटक विश्वकप खेल्ने अर्जेन्टिनाको टिममा यसअघि कोपा अमेरिकाको उपाधि जित्दाकै खेलाडी समेटिएका छन् ।
यस्तो छ विश्वकप खेल्ने अर्जेन्टिनाको टिम
गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी
डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लियाफिको, जान फोयथ
मिडफिल्डर : रोड्रिगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रिग्वेज, आलेआन्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस
फरवार्ड : लियोनल मेस्सी, एन्जल डी मारिया, पाउलो डिबाला, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरेया