सार्वजनिक यातायातमा समस्यै समस्या, घोषणापत्रमा दलहरूको चरम बेवास्ता

काठमाडौँ । विकासका पूर्वाधार मध्ये यातायात महत्त्वपूर्ण र मुख्य पूर्वाधार हो । त्यसमा पनि सार्वजनिक यातायात जनताको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । घर, अफिस, तीर्थ, विद्यालय, कलेज, अस्पताल, गाउँ, सहर, बजार जहाँसुकै यात्राका लागि आम सर्वसाधारण सार्वजनिक यातायातमै निर्भर छन् । हाम्रो जस्तो विकशील राष्ट्रको विकासका लागि सार्वजनिक यातायातको भूमिका महत्त्वपूर्ण रहन्छ ।

यातायातको पूर्वाधारको (सडकलगायत)को असुविधाकै कारण कै कारणले हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्ला शिक्षा, स्वास्थ्य, रोजगार, व्यापार र उद्योगधन्दामा पछि परेका छन् । तर अचम्मको कुरा के भने हुम्ला, जुम्ला, डोल्पा जस्ता भौगोलिक विकटताले दुर्गम भएको ठाउँमा मात्रै होइन । देशको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामा पनि सार्वजनिक यातायातको चरम समस्या आम नागरिकले व्यहोरिरहनु परेको छ ।

‘भक्तपुरबाट रत्नपार्क ओहोरदोहोर गर्दा धेरैजसो समय गाडीमा उभिनुपर्छ,’ यात्रु सजना सुनुवार भन्छिन्, ‘उभिन पनि कहाँ सजिलोसँग पाइन्छ र सिन्की कोचाई हुन्छ । बस स्टपबाट गाडी चढ्यो भने सिट पाइन्छ । नत्र कौशलटार, कोटेश्वर, बानेश्वरबाट चढ्दा उभिने ठाउँ पनि पाइँदैन ।’

खास गरी उपत्यकाका सबैजसो रुटमा चल्ने सार्वजनिक बसहरुमा यस्तै समस्या छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेपछि यस्तो समस्या हुने गर्छ । यात्रु पनि आआफ्ना विद्यालय, कार्यालयलगायत गन्तव्यमा समयमै पुग्न यसरी गुन्द्रुक खाँदिए झैँ खाँदिएर यात्रा गर्न बाध्य छन् ।

उनी भन्छिन्, ‘पाइला टेक्ने ठाउँ हुँदैन । बसभित्र चलमल गर्नै सकिँदैन । पुरै उकुस मुकुस हुन्छ । गर्मी भए पनि सहेर बस्न बाध्य हुन्छौँ, उत्रिन त झनै समस्या पर्छ ।’

रत्नपार्क हुँदै भक्तपुरको दुवाकोट पुग्ने बसमा बेलुकीपख सल्लाघारीबाट अत्यधिक भिडभाड हुन थाल्छ । बसमा पाइला राख्ने ठाउँ नभएपछि काखे बालक भएका आमाहरू हिँडेरै घर पुग्ने गरेको उनी बताउँछिन् ।

काभ्रेको नगरकोटका अधिकांश सवारी साधनहरू पुरानो भएका कारण धेरै कालो धुवाँ निकाल्छ । अझ सडकको धुलो पनि धुवासँग मिसिँदा मास्क भित्रै धुलो छिर्ने स्थिति रहेको नुवाकोटका यात्रु सुनिता लामाले बताउँछिन् ।

त्यस्तै, पुतलिसडकहुँदै सरस्वतिखेल जाने बसमा स्टेसनबाटै यात्रुहरू भरिएका हुन्छन् । अनि बिजुली बजार, कोटेश्वरबाट भिडभाड हुनथाल्छ । सरस्वतिखेल पुग्न धेरै यात्रुहरू गठ्ठाघरमा प्रतिक्षारत हुन्छन् । तर विडम्बना बसमा यात्रु अटाउने कोसिस गर्दा पनि नअटेपछि यात्रुहरू त्यत्तिकै अलपत्र पर्न बाध्य हुन्छन् ।

त्यस्तै, भक्तपुरबाट काभ्रेको नाला जाने बस समयमा आउँदैन । त्यहाँका यात्रुहरू लामो समयसम्म उभिएर बस पर्खन्छन् । यात्रु अर्चना साखकर्मी भन्छिन्, ‘समयमा गाडी आउँदैन । घण्टौँ पर्खिनु पर्छ ।’

यात्रुले यति सास्ती भोग्दा पनि समयमै गन्तव्यमा पुग्न सक्दैनन् । यसले न उनीहरूको उत्पादकत्व बढ्छ । न समयको नै सही सदुपयोग र बचत हुन्छ । अर्कोतर्फ गाडीका सहचालक वा कन्डक्टरहरूले नाजायज भाडा असुलेर यात्रुलाई चौतर्फी मारमा पार्छन् । सार्वजनिक यातायातका कतिपय गन्तव्यमा मानाैँ १८ रुपैयाँ भाडा तय भएको छ । तर, उनीहरू २० रुपैयाँ असुल्छन् । चानचुन वा फिर्ता गर्ने २ रुपैयाँको खुला पैसा नभएको बहानामा २ रुपैयाँ बढी नै असुल्छन् । यसले काठमाडौँ उपत्यकाका सार्वजनिक साधनामा यात्रा गर्ने यात्रु चौतर्फी मारमा परेको देखिन्छ ।

सवारी चालक दलका आफ्नै समस्या
यातायात व्यवस्थापनमा यात्रुलाई मात्र होइन । चालक, सहचालक, कन्डक्टर वा चालक दलका सदस्यलाई पनि उत्तिकै समस्या छ । रत्नपार्कबाट भक्तपुरको सरस्वतिखेलमा चल्ने एक बसका चालक भानुभक्त भण्डारी भन्छन्, ‘पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन बढ्छ, तर गाडिभाडा बढ्दैन । कतिपय यात्रुहरू लागेको भाडा माग्दा पनि दिन मान्दैनन् । झगडा गर्न आउँछन् ।’

त्यसैगरी, कतिपय यात्रु भाडामा छुट पाउन विद्यार्थीको नक्कली परिचयपत्र बनाएर देखाउने प्रवृत्तिका पनि छन् । कम भाडा तिर्न आफू चढेको सही स्टेसन नबताई नजिकको स्टेसन बटाउने, चानचुन नभएको बहानामा थोरै पैसा भाडा दिने जस्ता गलत प्रवृत्तिका पनि रहेको उनी बताउँछन् ।

यी सबै सार्वजनिक यातायात सञ्चालन गर्ने र दैनिक यात्रा गर्ने चालक र यात्रुका समस्या हुन् । यी बाहेक सडकको अवस्था, सवारी चालक अनुमति पत्रका समस्या, चालक अनुमति पत्र वितरणमा बिचौलिया प्रथा, ठगी, गलत परम्परा, सडकको दुरावस्था, सवारी साधनको दुरावस्था, पार्किङ स्पेसको अभाव, सडक नियमको पालनाको अभाव, साना सवारीको चाप, बढ्दो सडक दुर्घटना जस्ता अनेकौँ समस्या नेपालको सार्वजनिक यातायात क्षेत्रमा मौलाएका छन् । तर, करोडौँ नेपालीको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको सार्वजनिक यातायात क्षेत्रभित्रका समस्या समाधानलाई राजनीतिक दलहरूले नजरअन्दाज गरेका छन् । यी समस्यालाई दलहरूले यतिसम्म बेवास्ता गरेका छन् कि कतिपय राजनीतिक दलले त आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी घोषणा पत्रमा एक शब्द पनि उल्लेख गरेका छैनन् ।

सार्वजनिक यातायातबारे अधिकांश दलका घोषणापत्र मौन
नेपालका विभिन्न राजनैतिक पार्टीहरूले आ–आफ्ना घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर, हालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले यी समस्यालाई घोषणा पत्रमा उल्लेख गर्नसमेत आवश्यक ठानेको देखिँदैन । केबल सडक पूर्वाधार विस्तारका मेगा परियोजनालाई यी दलले घोषणापत्रमा उल्लेख गरेका छन् ।

नेकपा एमालेले भने आफ्नो घोषणा पत्रमा सार्वजनिक यातायातमा यात्रु र चालकले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

एमालेको घोषणापत्रमा भनिएको छ– ‘सहरलाई प्रदूषण मुक्त तुल्याउन तथा हरित एवम् नवीकरणीय ऊर्जा प्रयोगलाई बढाउन सार्वजनिक र अन्य सबै यातायातमा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरिने छ । सार्वजनिक यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागु गरिने छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका सहकार्यमा मुख्यसहरी क्षेत्रमा सहज, सुलभ र भरपर्दो सार्वजनिक यातायात सेवाको प्रबन्ध गरिने छ । मोटरबाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गरिने छ ।’

यद्यपि, नेपालका राजनीतिक दलहरूले काम गर्नका लागि भने निर्वाचनमा भोट बटुल्नका लागि मात्रै घोषणा पत्र ल्याउने प्रवृत्ति रहेकोले निर्वाचन पछि एमालेकै सरकार बने पनि घोषणा पत्रमा गरिएका प्रतिबद्धता पूरा हुनेमा शंका गर्ने ठाउँ प्रशस्त छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *