ललिता निवास प्रकरणमा मलाई फसाइयो : गच्छदार
इटहरी । नेपाली काँग्रेससहितको गठबन्धनबाट सुनसरी ३ का प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा प्रकरणमा फसाइएको बताएका छन् ।
इटहरीमा बिहीबार चुनावी सभा सम्बोधनका क्रममा गच्छदारले आफूलाई फसाइएको र जनताको मतले न्याय दिने बताएका हुन् ।
‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले प्रतिशोध साँध्यो,’ गच्छदारले भने, ‘जहिल्यै चुनाव जित्ने र कहिल्यै नहार्ने भएकाले आगामी समयमा हुने निर्वाचनमा मैले फेरि पनि जित्छु भनेर फसाइयो ।’ चुनाव लड्न वञ्चित बनाउनका निम्ति आफूलाई ओली नेतृत्वको एमाले सरकारले फसाइएको उनले बताए ।
‘मेरो त्यहाँ कुनै पनि संलग्नता छैन, मलाई यस पटक पनि जनताले चुनाव जिताएर पठाउनुहुनेछ,’ उनले भने, ‘मलाई विश्वास छ, मलाई ललिता निवास जग्गा प्रकरणमा अदालते सफाइ दिन्छ, इन्साफ दिन्छ ।’
उनले आफू जनतासमक्ष न्याय माग्न आएको बताए । उनले फरक प्रसङ्गमा अहिलेको गठबन्धन राजनीतिक स्थायित्वका निम्ति बनेको बताए । देशमा राजनीतिक स्थिरता आउन नसकेकाले गठबन्धन कायम रहने तर्क गरे ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुनसरी ३ मा सत्ता गठबन्धनको तर्फबाट गच्छदार चुनावी मैदानमा छन् ।