नयाँ शक्तिको उदय, अब संस्थागत हुने चुनौती
काठमाडौँ । आम चुनाव २०७९ ले भ्रष्टलाई छानी छानी कारबाही गर्नेजस्ता उत्तेजक नाराहरू दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय गराइदिएको छ । राष्ट्रिय राजनीतिमा उदाएको यो पार्टीको अबको मुख्य चुनौती संस्थागत हुन सक्नु रहेको देखिन्छ ।
काठमाडौँ, ५ मङ्सिर । देशभर मतगणना जारी छ । जारी मतगणनामा काँग्रेस र एमालेले अग्रतामा प्रतिस्पर्धा गरिरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी उस्तै रूपमा अग्रता लिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पाटीको इतिहास स्वयंमा अति छोटो छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गत असार ७ गते खुलेको यो पार्टीले स्थापित दलहरूलाई धक्का दिइरहेको छ । सहरको उच्च मध्यम वर्गमा पर्याप्त अपिल गरेको यो दलको मुख्य आधार भने खाडी मुलुक लगायत देशमा वैदेशिक रोजगारीमा जानेहरूको परिवार देखिन्छ ।
सुरुवाती मत केलाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले ठूला दलहरूलाई विगतमा समर्थन दिएका मतदाताको मन खिचेको देखिन्छ । एमालेतर्फको मत तुलनात्मक रूपमा कम लिएका छन् । चलायमान मताधारमा बढ्ता छोएको देखिन्छ । काँग्रेस, एमाले लगायत दलहरूको सम्पूर्ण नतिजा हेर्न बाँकी छ । यति हुँदाहुँदै पनि रास्वपा एमाले अध्यक्ष केपी ओलीले यसअघि दाबी गरे झैँ सिटविनाको पार्टी भने हुने छैन ।
ओलीले चुनावअगाडि दिएका अन्तर्वार्ताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी र कुनै पनि खालका स्वतन्त्र उम्मेदवारहरूले एक सिट पनि नजित्ने ठोकुवा गरेका थिए । यो चुनावका प्रारम्भिक मतसंकेतहरुले उनको भनाइ प्रमाणित नहुने प्रस्ट छनक दिएका छन् । बरु लामिछानेले आफ्नो पार्टी अब निर्णायक शक्तिका रूपमा देखा पर्ने बताए । सोमबार बिहान चितवनमा उनले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर राष्ट्रिय राजनीति अघि बढ्न नसक्ने जिकिर गरेका छन् ।
सभापति लामिछानेले संसद्मा आफूहरूलाई उपेक्षा गरेर अगाडि बढ्न अरू दलहरूलाई कठिन हुने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताए । ‘हामी धेरै महत्त्वपूर्ण अवस्थामा रहन्छौँ, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौँ होला’ उनले भने ।
मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुने लामिछाने बताउँछन् । निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित नहुने उनको भनाइ छ । कुन मन्त्रालय माग्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा रविले भने, ‘म त्यो फेजमा पुगिसकेको छैन ।’
समानुपातिकतर्फ रास्वपाको चिह्न घण्टीतर्फ ओइरिएको मतले उनको भनाइलाई पुष्टि गर्छ । नेपालको बहुदलीय प्रतिस्पर्धामा २०४६ तथा २०५२ सालपछिका खेलाडीहरूकै वर्चस्व रहिआएकामा अब नयाँ खेलाडीको प्रवेश सम्भव देखिने पक्का छ ।
काँग्रेस र एमालेको परम्परागत भोटबैंकमा जसरी माओवादीले आफ्नो स्थान बनायो, अनि उनीहरूको मत आधारमा मधेशका क्षेत्रीय शक्तिहरिले जसरी आफूलाई उभ्याए, यसरी नै रास्वपाले पहाड र मधेशका पहाडी समुदाय बहुल क्षेत्रमा, अनि सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मधेशका भित्री बस्तीहरूमा योपल्ट अर्थपूर्ण उपस्थिति जनाउनेछन् ।
योसँगै पछिल्लो राजनीतिक परिवर्तनका प्रत्येक एजेन्डामाथि प्रश्न उठाउँदै आएको राप्रपा चुनावको अन्तिम नतिजासम्म कति सिट र सङ्ख्यामा अडिन्छ, परीक्षणको रोचक विषय बन्न गएको छ । नेपालको सन्दर्भमा राप्रपा धार्मिक कट्टरपन्थी झुकाव भएको दक्षिणपन्थी शक्तिका रूपमा चिनिएको छ । यो रिपोर्ट तयार पार्दै गर्दासम्म राप्रपाले देशभरिमा तीन स्थानमा अग्रता लिइरहेको छ ।
भ्रष्टलाई छानी छानी कारबाही गर्नेजस्ता जनोत्तेजक नाराहरू छन्, तर नीतिगत भ्रष्टाचार लगायत गम्भीर प्रकरणहरूबारे चर्चा कम छ । मेरिटोक्रेसी अर्थात् ‘योग्यता तन्त्र’ले शैक्षिक प्रमाणपत्रका आधारमा शासन चलाउन पाउनुपर्ने तर्क गर्छ । रास्वपाको नारा नै छ– जान्नेलाई छान्ने । यसले इमानदारी र योग्यता तन्त्रको पक्षमा प्राथमिक महत्त्व दिने दक्षिणपन्थीहरूको साझा चरित्रकै प्रतिनिधित्व गर्छ ।
राजनीतिक विश्लेषक विष्णु सापकोटा यिनै कारणले रास्वपाको पक्षमा देखिएको जनमतलाई रोचक ठह¥याउँछन् । विगतमा काँग्रेस, एमाले र माओवादीप्रति जनताको विकर्षण देखिए पनि विकल्पको राजनीति गर्छौँ भन्ने विवेकशील साझाले नागरिकलाई धोका दिएका कारण अहिले रास्वपाले त्यो हिस्सा लिएको बताउँछन् उनी ।
‘विकल्पका लागि छट्पटाएका, तर विकल्प नपाएका मतदातालाई यो पार्टीले आशा जगाउन सक्यो, खासमा यो नेगेटिभ भोट नै हो,’ सापकोटा भन्छन्, ‘उनीहरूले आफू वैचारिक रूपमा को हौँ भनी परिभाषित गर्न बाँकी छ । त्यसपछि मात्रै यो नयाँ पार्टीको मूल्याङ्कन सम्भव हुन सक्छ ।’
नेपाली समाजभित्र नरम दक्षिणपन्थी जनमत पहिलेदेखि नै कायम थियो । यसले आफ्नो प्रतिनिधि राजनीतिक संस्था भने पाएको थिएन । कम्युनिस्टहरूले आमूल परिवर्तनको नारा दिँदै लोकतान्त्रिक शैली त समाते, तर व्यवहारमा उनीहरू पुरानै शक्ति संरचनाकै हिस्सा बन्न गए । परम्परावादी रुझान भएको मतलाई विवेकशील साझा पार्टीले आकर्षित गर्दै सुशासन र विकासको एजेन्डा दिए पनि त्यो ‘परियोजना’ सफल हुन सकेन ।
समग्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले लिइरहेको अग्रता र समानुपातिकतर्फको मत परिणामको प्रारम्भिक नतिजाले पुराना शक्तिलाई धक्का दिएको देखिन्छ । पुराना शक्तिलाई धक्का दिएका मतदाताको नयाँ राजनीतिक दल र नयाँ उम्मेदवारप्रति आकर्षण देखिन्छ ।
चुनौती अब
आम चुनाव २०७९ ले भ्रष्टलाई छानी छानी कारबाही गर्नेजस्ता उत्तेजक नाराहरू दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय गराइदिएको छ । राष्ट्रिय राजनीतिमा उदाएको यो पार्टीको अबको मुख्य चुनौती संस्थागत हुन सक्नु रहेको देखिन्छ ।
नीतिगत भ्रष्टाचार लगायत गम्भीर प्रकरणहरूबारे कसैगरी बोल्न सक्नपर्नेछ । यो पार्टी मेरिटोक्रेसी अर्थात् ‘योग्यता तन्त्र’ले शैक्षिक प्रमाणपत्रका आधारमा शासन चलाउन पाउनुपर्ने तर्क गर्छ । रास्वपाको नारा नै छ– जान्नेलाई छान्ने । यसले इमानदारी र योग्यता तन्त्रको पक्षमा प्राथमिक महत्त्व दिने दक्षिणपन्थीहरूको साझा चरित्रकै प्रतिनिधित्व गर्छ । यसलाई विधिमा संस्थागत गर्नुपर्ने हुन्छ ।
मतदाताले राजनीतिक विश्लेषण गरेर मत दिएका छैनन् । मतदाताले नयाँ चाहेको सन्देश मात्रै दिएका हुन् । जनताको सन्देशलाई पार्टीहरूले बुझ्न सक्नुपर्छ ।
उदय भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी काँग्रेस, एमाले, माओवादीसरह आउँदैन, यी तीन वटा पार्टीपछि ऊ चौथो पार्टी बन्न सक्ने सम्भावना छ । हिजो चौथो पार्टी राप्रपा नेपाल पनि बनेको थियो । तर, अर्को चुनावमा राष्ट्रिय दल बन्न नसकेको दृष्टान्त ताजै छ । यो सबै पार्टीका लागि गम्भीर सन्देश हो ।
परिवर्तनका बेला, नयाँ केही गर्छु भएर आउँदा अर्थात्, नयाँ नयाँ हुँदा पार्टीप्रति मानिसमा एक प्रकारको आस हुन्छ । तर देश एउटा सिस्टममा अघि बढ्न थालेपछि जनताले परीक्षा लिन्छन्, एक खालको सन्देश दिन थाल्छन् । अहिले जुन राजनीतिक परिदृश्य देखिएको छ, यही नै संदेश्श हो । यसले दिएको गम्भीर सन्देश हो– पुरानो नेतृत्वले आर्थिक विकासको नेतृत्व गर्न सकेनन् ।
खुला समाजमा हुने निर्वाचनमा विभिन्न दल उदाउने, स्वतन्त्रहरू आउने भइरहन्छ । युक्रेनमा एक कलाकार राष्ट्रपतिमा आए, जनतासँगै रहेर काम गरिरहेका छन् । पार्टीको झन्डा बोक्ने व्यक्ति नै चुनाव लडेर नेतृत्व गर्न सक्छ भन्ने छैन । यो सन्देश नेपालीहरूले पनि पटक पटक दिएकै छ ।
पुस्तान्तरण भइरहेको छ, नयाँ पुस्ताले हिजोको काँग्रेस र कम्युनिस्टलाई आँखा चिम्लेर मान्दैन । पछिल्लो पाँच–सात वर्षमा नयाँ पुस्ता राजनीतिमा आएका छन् । जुन पुस्ता हिजोको भन्दा धेरै अवस्थाले फरक छ । कुनै नयाँ पार्टी स्थापित हुन सबैभन्दा ठुलो चुनौती यो छ कि उसले आफूलाई पार्टीका रूपमा रूपान्तरण गर्नुपर्छ । जो हिजो विवेकशील साझाले सकेन ।
यो बुझेर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई संस्थागत गर्न सक्नुपर्छ । मतदाताले राजनीतिक विश्लेषण गरेर मत दिएका हुँदैनन्, छैनन् । मतदाताले नयाँ चाहेको सन्देश मात्रै दिएका हुन् । जनताको सन्देशलाई नयाँ पार्टीले बुझ्न सक्नुपर्छ ।