अर्जेन्टिनामाथि साउदी अरबियाको ऐतिहासिक जित
उपाधि दाबेदार अर्जेन्टिना विश्वकप अन्तर्गत समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ।
अल दयानस्थित लुसाइल स्टेडियममा मङ्गलवार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो।
साउदीसँग हार भोगेसँगै विश्वकपमा लगातार ३७ खेलमा अपराजित रहेको अर्जेन्टिनाको यात्रामा पूर्णविराम लागेको छ।
पहिलो हाफमा १–० पछि परेको साउदीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सानदार सुरुवात गरेको हो।
खेलको नवौँ मिनेटमा पेनाल्टी मार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा हारबाट विश्वकपको सुरुवात गरेको छ।
खेलको नवौँ मिनेटमा साउदी अरेबियाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। खेलको १० औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर खेर जान दिएनन्।
खेलमा अर्जेन्टिनाले ३ गोल साउदी अरेबियाको पोष्टमा गरे पनि रेफ्रिले अफसाइड दिँदै गोलको मान्यता दिएनन्।
खेलको ४८ औँ मिनेटमा सलेह अलसेहरी गोल गर्दै साउदीलाई बराबरीमा ल्याएका थिए। त्यसको पाँच मिनेटपछि नै सलिम अलदावसरीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
खेलमा अर्जेन्टिनाले राम्रो मुभ बनाए पनि साउदीको रक्षापंक्ती तोड्न भने नसक्दा हार भोग्न बाध्य भएको हो।