मोरङको अपडेट : दुई-दुई क्षेत्रमा एमाले र कांग्रेसको अग्रता, १-१ ठाउँमा स्वतन्त्र र माओवादी
विराटनगर । प्रतिनिधि सभामा मोरङका दुई–दुई निर्वाचन क्षेत्रमा एमाले र कांग्रेस अगाडी देखिएको छन् । पछिल्लो परिणाम सार्वजनिक हुँदै गर्दा क्षेत्र एउटा क्षेत्रमा माओवादी र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले नेपाली कांग्रेसका डिगबहादुर लिम्बुलाई पछाडि पारेका छन् । खतिवडा ६२४३ मतका साथ अगाडी छन् भने लिम्बु ५६३१ मतका साथ पछ्याइरहेका छन् । क्षेत्र नम्बर १ को प्रदेश १ मा एमालेका उमाकान्त गौतम ६९४० मतका साथ अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुशलप्रसाद साम्बा ५४६० मतले पछ्याउँदछन् ।
मोरङ क्षेत्र नम्बर २मा नेकपा एमालेका ऋषिकेश पोखरेल ४०६ मतले अगाडी छन् । पोखरेलले ८०५९ मत ल्याउँदा नेपाली कांग्रेसकी सुजाता कोइरालाले ७६५३ मत ल्याएर उनलाई पछ्याउँदै छिन् ।
क्षेत्र नम्बर २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती ३७४१ मतका साथ अग्रस्थानमा छन् भनेँ नेकपा एमालेका दानबहादुर काकपर्् ३४४३ मत लिएर उनलाई पछ्याई रहेका छन् । सोही क्षेत्रको प्रदेश २ मा एमालेका लिलाबल्लभ अधिकारी ५७८४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कार्कीले ४८०७ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायम छ । उनले १०७९५ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले ६४८८ मत प्राप्त गरेका छन् । राप्रपाकी रेखा थापाले २३५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रको प्रदेश १ मा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ। कांग्रेसका मानबहादुर लिम्बुले १५४९३ मत ल्याउँदा एमालेका दिलिप कुमार राईले १२२०९ मत मात्र प्राप्त गर्न सकेका छन् । यहाँ पनि मत गणना जारी रहेको छ।
मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले मतान्तर बढाएका छन् । एमालेका विनोद ढकालसँग मोदी ६९५१ मतले अघि छन् । मोदीले १५८०९ मत प्राप्त गर्दा ढकालले ८८५८ मत मात्र प्राप्त गर्न सकेका छन् । यो क्षेत्रको प्रदेश १ मा भने नेपाली कांग्रेसका गुरुराज घिमिरे झिनो मतले अगाडी छन् । घिमिरेले १०६७६ मत ल्याउँदा एमालेका जयप्रकाश चौधरीले १०६६५ मत ल्याएका छन् । यो क्षेत्रमा एमाले र कांग्रेस बिचको मतान्तर ११ मत छ ।
मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल जोगीले अग्रता बढाउँदै लगेका छन् । मण्डलले ११३२४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ८२७१ मत मात्र प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका राजकुमार यादवले ७६१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो निर्वाचन क्षेत्रको प्रदेश १ मा नेपाली कांग्रेसका गयानन्द मण्डल निर्वाचित भएका छन् । मण्डलले नेकपा एमालेका सन्तोषकुमार साहलाई पराजित गर्दै निर्वाचित भएका हुन् । क्षेत्र नम्बर ५ को प्रदेश २ को मत गणना जारी छ ।
त्यस्तै चर्चाको क्षेत्र मानिएको मोरङ ६ मा नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता बढाएका छन् । कोइराला ८१७५ मतका साथ अगाडी छन् भनेँ नेकपा एमालेका लालबाबु पण्डितले ७००७ मत मात्र प्राप्त गर्न सकेका छन् । त्यस्तै क्षेत्र नम्बर ६ प्रदेश १ मा नेकपा माओवादीका जीवन आचार्यले मतान्तर घटाएका छन् । नेकपा एमालेकी रिता न्यौपानेले ९२२२ मत प्राप्त गर्दा आचार्यले ७६५९ मत मात्र प्राप्त गरेका छन् । यस अघि सार्वजनिक भएको मत परिणाममा १६१५ मतले अगाडी रहेकी रिता पछिल्लो मत परिणाम सार्वजनिक हुँदै गर्दा रिताले १५६३ मतान्तर मात्र कायम राख्न सकिन् ।