नेपाली कांग्रेसका अर्याल मोरङ क्षेत्र ५ (ख) मा निर्वाचित
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् । मोरङ क्षेत्र नंं. ५(ख) बाट उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई ५ हजार २७८ मतान्तरले पराजित गरे ।
अर्यालले १६ हजार १०२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत मात्र ल्याए । तेस्रो भएका राप्रपा राजेश बानियाले ३ हजार २४७ मत ल्याए । मोरङ ५(ख) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरिसकेको छैन ।
अर्याल २०३८ सालमा नेबिसंघ मोरङको सभापति भएका व्यक्ति हुन् । २०६४ सालदेखि लगातार नेपाली काँग्रेसको मोरङको निर्वाचित जिल्ला सभापति भएर काम गरेका अर्याल नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भए । उनी काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेका छन् ।
उनले २०७२ सालको संविधानसभाको निर्वाचनमा तत्कालीन फोरमको अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर संविधान सभाको सदस्य पनि भएका थिए । उनलाई नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । उनले मनोनयन दर्ताको बेलामा नै मुख्यमन्त्रीका लागि आफू प्रदेश सभामा उम्मेदवार भएको बताएका थिए ।
यसअघि मोरङ क्षेत्र नं. ५(१) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।