पोल्याण्डसँग साउदी अरेबिया पराजित

काठमाडौं । विश्वकप फुटबलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ। पहिलो खेल जितेर उच्च मनोबलमा रहेको साउदीलाई पोल्याण्डले २–० ले पराजित गरेको हो।

एजुकेशन सिटी स्टेडियममा पोल्याण्डले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो। ८२ औं मिनेटमा कप्तान लेवान्डोस्कीले अग्रता दोब्बर पारे। त्यसअघि जेलिस्कीले पनि लेवान्डोस्कीको पासमा गोल गरेका थिए।

खेलको ४४ औँ मिनेटमा साउदीले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन। साउदीका सलेम अल्दवसारीले प्रहार गरेको पेनाल्टी पोल्याण्डका गोलरक्षक वजसिएक सेचेज्नीले बचाए।

साउदीले पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबर खेलेको थियो। साउदीमाथिको जितसँगै पोल्याण्डको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ। अब उसले अन्तिम खेल अर्जेन्टिनासँग खेल्ने छ।

जितसँगै पोल्याण्डको ४ अंक भएको छ भने पराजित साउदी ३ अंकसहित दोस्रो स्थानमा छ।  आजै हुने समूह चरणको अर्को खेलमा अर्जेन्टिना र मेक्सिको खेल्नेछन्।

यो खेल अर्जेन्टिनाले जितेमा सबै टोलीका लागि नकआउट चरणको सम्भावना कायम रहनेछ। अर्जेन्टिना पराजित भए एक खेल अघि नै उसको विश्वकप सपना यस पटकलाई सकिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *