नारायणले सुरु गरे पानीपुरी व्यापार : परिवारसहित ४ जना रोजगार
आहा ! पानीपुरी ।
उसिनेको आलुमा अमिलो, पिरो, नुन, मरमसला, गेडागुडी आदि मिसाई पुरीमा हालेर झोलसँग खादा । आहा ! स्वाद नै बेग्लै । हरकोहीले खाने, हरकोहीलाई मनपर्ने । जाडो, गर्मी जुनसुकै मौसममा पनि उपयुक्त खाजा बनिरहेको छ, पानीपुरी ।
पानीपुरी भारतबाट भित्रिएको भनिए पनि यसको लोकप्रियता अहिले विश्वका धेरै देशमा बढ्दै छ । विश्वभरि देख्न सकिन्छ । त्यही लोकप्रियताकै कारण नेपालमा पानीपुरीको व्यापार फस्टाउँदै गएको छ ।
हाम्रा वरपर यस्ता थुप्रै मानिसहरूको भिड छन् । जसले पानीपुरी र चटपटे व्यापार गरेर नै परिवार चलाइ रहेका छन् । कति त चलाउने सोचमा होलान् । ती नै भिडहरू मध्ये एक नारायण दास श्रेष्ठ पनि हुन् ।
काभ्रेका नारायणदास श्रेष्ठ एक किराना पसले व्यापारी हुन् । उनको जन्मथलो काभ्रे जिल्ला भए पनि कर्मथलो दुवाकोट, भक्तपुर हो । उनी अहिले पानीपुरी र चटपटेका सामानहरू जस्तै पुरी, भुजा, मरमसला, चनाकेराउ आदिको व्यापार गरिरहेका छन् । ती सामानहरू उनले काठमाडाैँको कालीमाटीबाट ल्याउने गरेका छन् । उक्त व्यापारबाट उनी आफूसहित परिवारका ३ जना त राेजगार छन् नै अन्य ३ परिवारका सदस्य र १ जना कर्मचारी पनि रोजगार भएका छन् ।
नारायणले पानीपुरीको व्यापार वि.सं २०७६ सालबाट सुरु गरेका थिए । उनी भन्छन्, ‘मैले व्यापार सुरु गरेको तीन वर्ष पूरा भइसक्यो ।’
उनले भक्तपुर दुवाकोटमा सुरु गरेको पानीपुरीका कच्चापदार्थको व्यापारले हालसम्म निरन्तरता पाइरहेको छ । उनी भन्छन्,‘ घाटाको स्थिति छैन । फाइदाजनक नै छ ।’ बिस्तारै व्यापार फस्टाएकै कारण उनले ४ व्यक्तिहरूलाई रोजगार दिन पाएका हुन् ।
उनीहरूका विशेष काम भनेको नै पुरी पकाउनु हो । सबैभन्दा बढी व्यस्त हुने बेलुकीको समय हो । बेलुकीको करिब ४ः३० बजेदेखि पुरी पकाउने काम सुरु हुन्छ । केही समय नबित्दै फुलेका राता पुरीहरूकाे गोदाम बन्दछ । ती सबै पुरी बिहान बिक्री भइसक्छन् । दिउँसो उनीहरू त्यहाँ आएका ग्राहकलाई पाथीका हिसाबले भुजा बिक्री गर्दछन् । अन्य सामानहरू पनि बेच्ने गर्छन् ।
विगत ३ वर्षदेखि त्यहाँ गणेश श्रेष्ठ, नवराज श्रेष्ठ, अमृता श्रेष्ठ र सृजना श्रेष्ठ कार्यरत छन् । उनीहरू नारायणकै पारिवारिक सदस्य पनि हुन् । सदस्य नै भए पनि उनीहरूको मासिक तलब १५, १६ हजार सम्म रहेको छ ।
पानीपुरी व्यापार गरी स्वरोजगार बनेका व्यक्तिहरू त धेरै छन् । तर, नारायण स्वरोजगार मात्र नभएर रोजगारदाता पनि हुन् ।
अब रोजगार पाउन धेरै पढ्नु पर्छ, ठुलो पावर चाहिन्छ, लगानी चाहिन्छ या त विदेशिनु पर्छ भन्ने दिनहरू गए । किनकि पानीपुरी बेचेर पनि नेपालमा रोजगारीको सिर्जना गर्न सकिन्छ भन्ने राम्रा उदाहरण नारायण बनिसकेका छन् । यी यस्ता कामले नै हाम्रो विदेशिने प्रवृत्तिमा रोक लगाउन सक्छ ।
नारायण सानाे लगानीबाट नै रोजगारीको सृजना गरी अरूलाई पनि रोजगार दिन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् । जसका लागि ठुलो लगानी नै चाहिन्छ भन्ने छैन ।
रेस्टुरेन्टदेखि सानातिना ठेलागाडामा समेत पानीपुरीको बढ्दो माग देखेपछि उनले बाघ भैरव खाद्य उद्योग नामक पसलबाट पानीपुरीको व्यापार गर्न थालेका हुन् । विशेष गरी भारतीय व्यापारी उनको प्रेरणाका स्रोत नै हुन् । किनकि उनीहरूले गरेकाे देखेर नै उनमा त्यो सोच पलाएको थियो ।
उनी भन्छन् ‘मैले पनि अरूले गरेको देखेर नै सिकेको हुँ । हाम्रा मधेसतिरका र भारतीय दाजुभाइले गरेको देखेर नै सुरु गरेको हुँ ।’ दुवाकोटमा बसोबास गर्दै आएका उनले पानीपुरी पसल र ठेलागाडाका लागि पानीपुरीको पुरी र चटपटेका सामानहरू उपलब्ध गराउँदै आएका छन् ।
उनको व्यापारिक यात्रामा धेरै उतार चढाव आए । केही समय अघिको कुरा हो– नगरपालिकाले सडकमा भएका चटपटेका गाडाहरू हटाएका कारण उनको व्यापारमा थोरै असर परेको छ । किनकि उनको अधिकतम ग्राहक नै ती ठेला, गाडा व्यापारी थिए । तर पनि उनको व्यापार सन्तोषजनक नै छ ।
अमिलो, पिरो र मसलेदार स्वादका कारण नै मानिसहरू पानीपुरी लाई मन पराउँछन् । तर पानीपुरीमा एउटा रोचक तथ्य पनि छ । घरमा बनाएको स्वस्थकर पानीपुरीले शरीरको तौल घटाउन पनि मद्दत गर्ने रहेछ । त्यस्ताे फाइदाजनक पानीपुरीकाे परिकार तयार गर्न थुप्रै किसिमका खाद्य वस्तु मिसाइन्छ । त्यसका लागि जिरा, मसला, भुटेको खुर्सानी, बिरेनुन आदि मरमसला चाहिन्छन् । यी सबै नारायणका पसलमा पाइन्छ ।
उनको पसलमा पानीपुरी लिन ठेलागाडा र पानीपुरी पसलेहरू मात्र नभएर बेलाबखतमा स्थनीयहरू पनि पुग्ने गरेका छन् । भन्छन् ‘यहाँ त चटपटे र पानीपुरीका सबै सामानहरू पाइने रहेछ ।
आहा ! कति सजिलो भयो ।’