को बन्छ कर्णाली प्रदेशको मुख्यमन्त्री ?

सुर्खेत । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना कर्णाली प्रदेशमा सकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनालाई नियाल्ने हो भने कर्णाली प्रदेशमा गठबन्धन बलियो देखिन्छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२ मा ११ सिटमा विजयी हासिल गरेको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा २४ निर्वाचन क्षेत्र रहेकोमा कांग्रेस र माओवादीले समान ९–९ सिट गरी गठबन्धनले १८ सिट जितेको छ । यस्तै नेकपा एमालेले ५ सिट जित्दा १ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कर्णाली प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद रहन्छन्  । जसमध्ये बहुमतमा प्रदेश सरकारमा जान कुनै पनि दललाई २१ सिट आवश्यक पर्छ । कुनै एक दलले यो अंकगणित पूरा गर्न नसके पनि गठबन्धन गरी चुनावमा होमएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको भने प्रत्यक्ष र समानुपातिक गरी बहुमत पुग्ने देखिन्छ । यसरी निर्वाचनको मत परिणामसमेत सार्वजनिक भइसक्दा सबैको चासोको बिषय बनेको छ– कर्णालीको मुख्यमन्त्री को ? त्यसो त निर्वाचन अगावै मुख्यमन्त्रीको दावेदार भनेर कतिपय सांसदहरु चुनावमा होमिएका पनि थिए ।
कर्णाली प्रदेशमा अवको मुख्यमन्त्रीका लागि प्रमुख तीन दलबाट विभिन्न उम्मेदवारहरु आकांक्षी रहेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा पुनः निरन्तरता पाउने सोचमा छन् कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही । यद्यपि यसका लागि सरकार कसरी बन्छ र गठबन्धनको निर्णय के हुन्छ भन्नेमा भर पर्छ । शाही हुम्ला प्रदेश सभा (ख) बाट विजयी भएका थिए । यस्तै नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका अर्का आकांक्षी हुन् । जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बनी विजयी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाह । कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नकै लागि उनले प्रदेश सभा निर्वाचनमा चुनाव सहभागी भएको कांग्रेसका केही नेताहरू बताउँछन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको आकांक्षीमा २ जना दाबेदार रहेका छन् । २०७४ को निर्वाचनमा पश्चात् पनि कर्णालीले पहिलो मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्र बहादुर शाही बनेका थिए । यसपटक पूर्व मुख्यमन्त्री शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि नै माओवादी केन्द्रका विभिन्न नेताहरूलाई मुख्यमन्त्रीको आकांक्षीको रूपमा हेरिएको थियो । मुख्यतः माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित भएका राजकुमार शर्मा र सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित भएका विद्यमान बिष्ट चर्चामा रहेका छन् । यदि कर्णाली प्रदेशमा माओवादीको सरकार बनेको खण्डमा यी दुई मध्ये एक मुख्यमन्त्री बन्ने देखिन्छ ।
नेकपा एमालेबाट कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह । कँडेल सुर्खेत २ प्रदेश सभा (क) बाट निर्वाचित भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा नै मुख्यमन्त्री बन्ने प्रवल सम्भावना हुँदाहुँदै पनि तत्कालीन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको अन्तरद्वन्द्वका कारण कँडेलको मुख्यमन्त्री बन्ने आकांक्षा पुरा हुन सकेन  । साथै यसपटक मुख्यमन्त्री बन्ने आकांक्षाले कँडेल पुनः प्रदेश सभाको उम्मेदवार बनेका थिए र निर्वाचित पनि भएका छन् । यस्तै नेकपा एमालेबाट मुख्यमन्त्रीमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका विनोद कुमार शाह पनि आकांक्षी हुन् । उनी नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष पनि हुन् ।
यसरी मुख्य तिन दलबाट छ जना कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि आकांक्षी रहेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *