माधव नेपाल आत्मसमीक्षा : रौतहट नगएको भए मलाई पनि उछिट्याउने रहेछन्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँबाटै चुनाव लडेको भए आफूले हार्ने आत्मसमीक्षा गरेका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय सुविधानगरमा नेता कार्यकर्तासँगको कुराकानीमा उनले यस्तो समीक्षा गरेका हुन् ।
रौटहट १ बाट प्रतिनिधिसभा चुनाब जितेर फर्किएका नेता नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तासँगको कुराकानीमा भने– ‘रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् ।’
स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो मत लिएपछि सुरक्षित स्थान खोज्दै ओली गृह जिल्ला रौतहट १ मा पुगेर चुनाव लडेका हुन् ।
उनले गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि गोरखा गएर चुनाव नलडेको भए उनीलाई पनि गाह्रो पर्ने समीक्षा गरेका छन् ।
नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका अध्यक्ष नेपाललाई आइतबार पार्टी कार्यालयमा नेता कार्यकर्ताले बधाई दिँदै सम्मान गरे ।
२०७४ मा काठमाडौँ २ बाट चुनाव जितेका नेपालले यसपाली काठमाडौँबाट उठ्ने हिम्मत गर्न सकेनन् ।
उनको पार्टी नेकपा एसलाई गठबन्धनको भागबन्डामा २० सिट परेको थियो । यस मध्ये १० ओटामा पार्टीका उम्मेदवारले जित हात पारेका छन् ।
तर, समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले पाएको मत करिब २ लाख ४० हजार मात्रै रहेकोले राष्ट्रिय पार्टीको मान्यता पाउने थ्रेस होल्ड नकट्ने हो कि भन्ने चिन्ता एसका नेता कार्यकर्तामा देखिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षमा कम्तीमा १ सिट जित्नुपर्छ । त्यस्तै, समानुपातिकतर्फ खसेको कुल मतको ३ प्रतिशत मत ल्याउनु पर्छ ।