इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो
काठमाडौँ । ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स समुहचरणबाटै बाहिरिएको छ । इङल्याण्डसँग ३-० ले पराजित हुँदा कतारबाट बिदा हुनु परेको हो ।
अहमद अल बिन अली स्टेडियममा मंगलबार राति भएको खेलमा इङल्याण्डसँग ३–० ले पराजित भएपछि वेल्सको दोस्रो पटक अन्तिम १६ मा पुग्ने इच्छामा यसपटक पूर्णविराम लागेको हो ।
यसअघि सन् १९५८ मा पहिलो सहभागितामा नै क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसपछि पहिलो पटक विश्वकपमा सहभागी भएको वेल्स समूह चरणबाट अघि बढ्न सकेन ।
समूह बी मा रहेको वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । दोस्रो खेलमा इरानसँग २–० ले पराजित हुँदा अघिल्लो यात्रा संकटमा परेको थियो ।
शुक्रबार इरानसँगको खेलमा वेल्सका गोलरक्षक वेन हेनेसीले ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेपछि खेलले अर्कै मोड लियो । वेल्सविरुद्द फिल फाेडेनले १ र रासफाेर्डले २ गाेल गरे ।
यो समूहबाट इङल्याण्ड विजेता र अमेरिका उपविजेता बन्दै नकआउट पुगे । इरान र वेल्स भने समूह चरणबाट बाहिरिएका छन् ।