किसानको खेतमा पुगेर विश्वप्रकाशले भने- परिवर्तनको अभियान प्रारम्भ भयो (भिडिओ)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले परिवर्तनको अभियान प्रारम्भ भएको बताएका छन् । मंगलबार काठमाडौँ आएर नेता गगन थापालाई बधाई दिएको शर्मा आफ फेरि झापा पुगेका हुन् ।
झापा क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा ‘मतदाता सम्मान अभियान’का लागि त्यहाँ पुगेका हुन् । किसानको खेतमा पुगेको भिडिओ सार्वजनिक गरेका शर्माले लेखेका छन्, ‘केवल एक साँझ काठमाडौँ बसेर बिहानै झापा पुगेको छु । झापा १ मा मतदाता सम्मान अभियान केही बाँकी वडामा केही दिन केन्द्रित रहेर, काठमाडौँ पुग्नेछु ।’
संघीय सांसद शर्माले ‘परिवर्तनको अभियान प्रारम्भ भइसकेको’ उल्लेख गर्दै यसलाई निर्णायक बनाउन सबैको सहयोग पाउने अपेक्षा गरे ।
मंगलबार महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका थिए । आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको उनको भनाई थियो ।
उनले महामन्त्री थापा पटक–पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरू र सांसदहरूसँग छलफल अगाडी बढाउने महामन्त्री शर्माको भनाई छ ।
किसानको खेतमा पुगेर विश्वप्रकाशले भने- 'परिवर्तनको अभियान प्रारम्भ भयो’ pic.twitter.com/v5g7KZUfjz
— Makalu Khabar (@makalukhabar) November 30, 2022