कांग्रेसको साख जोगाउन सफल सीता भन्छिन् : ‘जित सहज थिएन’

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुम जिल्लाबाट निर्वाचित सीता गुरुङलाई चुनावमा उम्मेदवारी दिँदै गर्दा गर्दा दुई वटा चुनौती थिए । पहिलो– तेह्रथुममा कांग्रेसभित्र दुई धार थियो । यसले गर्दा उनलाई चुनाव जित्न सहज थिएन । अर्को– प्रतिस्पिर्धी पुरुष हुनाले महिलालाई भन्दा बढी पुरुषलाई मत दिएर हराउने हुन् कि भन्ने चिन्ता थियो ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवानिकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ २०६४/२०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत भएकी थिइन् । सत्ता गठबन्धनको कार्यदलको मापदण्डअनुसार नेकपा एसका भवानीप्रसाद खापुङ २०७४ सालको निर्वाचनमा विजय हासिल गरेर यसअघि सो क्षेत्रबाट मन्त्री भइसकेका थिए । सीतालाई खापुङको साथ थियो । तर नेकपा एमालेका विजय सुब्बालाई हराउनु अर्का चुनौती नै थियो ।

सीता २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार भवानी खापुङसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । तेह्रथुममा कांग्रेस उम्मेदवारले चुनाव जित्नु कठिन नै देखिन्थ्यो । यसअघि दुई पटकसम्म प्रत्यक्ष चुनाव जितेका र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बालाई हराउन सीताले धेरै कसरत गर्नुपर्ने देखिन्थ्यो ।

अन्ततः नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै वाम लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भइन् । गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरे । तेह्रथुममा २०१५ देखि नै लिम्बू समुदायका उम्मेदवारले मात्रै केन्द्रको संसदीय चुनाव जित्दै आएको इतिहास छ । तर, सीताले यसलाई तोडेर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् । उनले तेह्रथुमको मात्र होइन देशको ठुलो पार्टी नेपाली कांग्रेसको साख जोगाउन सफल भएकी छन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । हालसम्म नेपाली कांग्रेसले ५४ ठाउँमा विजय हासिल गरेको छ भने १ ठाउँमा अग्रता कामय गरेको छ । तर महिला उम्मेदवारले भने एक ठाउँमा मात्र विजय हासिल गरेका छन् । बाजुरा, दोलखा र स्याङजामाको नतिजा आउन बाँकी भए पनि त्यहाँ कांग्रेसका तर्फबाट महिला उम्मेदवार नै छैनन् ।

के भन्छिन् गुरुङ ?

गुरुङ आफूलाई चुनाव जित्न सहज नभएको बताउँछिन् । सोचेको भन्दा गठबन्धनको अवस्था फरक रहेको बताउँदै महिलालाई चुनाव लड्न थुप्रै बाधा हुने उनको भनाइ छ ।

उनी भन्छिन्- ‘चुनाव जितेकोमा खुसी त भएकै हो । मैले जित्न पक्कै सहज थिएन । सबै कुरा भन्न नमिल्ने पनि हुँदा रहेछन् । तेह्रथुमे जनताले मलाई जिम्मेवारी सुम्पिनुभएको छ । म उहाँहरुको सपना पूरा गर्नेछु ।’

तर जनताले दिएको जिम्मेवारीलाई पूरा गर्ने थुप्रै चुनौती रहेको पनि उनले बताइन् ।

उनले थपिन् ‘जनताले मप्रति भरोसा गरेर दिएको अभिमतलाई जोगाएर काम गर्न मेरो ध्यान गएको छ । मैले जितेको भन्दा पनि जिम्मेवारी लिएको हो । अब मेरो ध्यान जिल्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षाको गुणस्तर वृद्धि र जनताको मर्म अनुसार काम गर्नेमा जाने छ । तेह्रथुम जिल्ला दुर्गम जिल्ला भएकाले यहाँको सडकलाई समेत प्राथमिकतामा राखेर काम गर्नु मेरो पहिलो कर्तव्य हुने छ । यसका साथै महिला सहभागिता वृद्धि गर्ने कुरा त छँदै छ । समग्रमा तेह्रथुम जिल्लालाई सुन्दर बनाउने कल्पना छ ।’

देशभर के छ महिलाको अवस्था

देशभर चुनावी परिणामलाई हेर्दा ९ जना मात्रै महिला निर्वाचित भएका छन् । ती मध्ये नेकपा एमालेबाट सबैभन्दा धेरै अथवा ४ जना विजयी भएका छन् । विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी शाह र भगवती चौधरी एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनेमा तोसमा कार्की र सोभिता गौतम छन् । नेपाली कांग्रेसबाट एक मात्रै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ विजयी महिला सीता गुरुङ मात्र हुन् । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *