बारुदखाना चाेक : ऐतिहासिक बारुदखाना घरको ताजा सम्झना !
काठमाडाैँ । कोटेश्वरदेखि भक्तपुरको दुवाकोट जाने बसमा यात्रा गर्ने क्रममा ‘बारुदखाना चाेक’ (बस स्टेशन) आइपुग्यो । ‘बारुद’ सुन्दा नै खतरनाक लाग्ने शब्द । त्यसमाथि बारुदखाना । यस चाेकलाई किन बारुदखाना भनिएको होला ? मन उत्सुक भयो । मेरो नजिकै करिब ६० वर्षका वृद्ध थिए । उनैलाई सोधेँ । बसको झ्यालबाट पश्चिमतिर इसारा गर्दै उनले मलाई देखाए– एउटा सुनसान क्षेत्र ।
सुनसान क्षेत्रको वरपर ठुलठुला रुखहरू थिए । काढेँ तारको बार अनि बिचमा एउटा पुरानो घर । त्यही रहेछ– बारुदखाना घर । बारुदखाना घर भएकोले यो बस स्टेशनको नाम नै ‘बारुदखाना चाेक’ भएको रहेछ । म त्यही स्टेशनमा ओर्लिएँ । बस अघि बढ्यो । बसमा सँगै यात्रा गरिरहेका वृद्ध बससँगै आफ्नै गन्तव्यतर्फ गए । तर, मेरो मनको कौतुहलता मेटिएन । त्यो घरलाई किन बारुदखाना भनियो त ? प्रश्न तेर्स्याउन साथमा ती वृद्ध थिएनन् । सोच्दै थिएँ– यही क्षेत्रमा बसोबास गर्ने स्थानीय कोही पाका व्यक्तिलाई फुर्सद मिलाएर सोधौँला ।
कलेजको पढाइ र घरको कामको व्यस्तताले केही दिनसम्म त्यसबारे जान्ने अवसर पाइरहेको थिइनँ । कलेज जाँदा आउँदा बस बिसौनीमा रातो अक्षरमा लेखेर राखिएको ‘बारुदखाना’ बोर्डले उत्सुकता झनै बढेर आउँथ्यो ।
कलेजका लागि बस चढ्न जाँदै गर्दा एक दिन अचानक देखेँ– त्यहाँ त्यो पुरानाे इतिहास बोकेको बारुदखाना घर थिएन । नामेट भएछ । किन भत्काएछन्, त्यस्तो ऐतिहासिक घर ? झन् जिज्ञासा बढ्यो ।
दुईचार दिनपछि नै त्यहाँ त नयाँ भवन बनाउन सुरु भइसकेको देखेँ । थुइक्क ! त्यस्तो ऐतिहासिक घरको फोटो पनि खिच्न पाइँन । गुगलले पनि देखाएन । मैले जस्तै अरूले पनि त्याे घरकाे फाेटाे खिचेनछन् कि त । वा खिचेर पनि इन्टरनेट, अनलाइनमा अपलाेड गरेन छन् कि त । वा मैले खोज्न पनि नसकेको हो कि । जे हाेस्, अपसोच लाग्यो ।
त्यसै क्रममा यी सबै घटना नजिकबाट नियालिरहेका चाँगुनारायण नगरपालिका २ का स्थानीय ७२ वर्षका मानकाजी लाछिवासँग भेट भयो ।
उनले भने– ‘मलाई थाहा भएदेखि नै यहाँ रहेको घरलाई बारुदखाना भनिन्थ्यो । त्यही घरको नामबाट यो ठाउँलाई नै बारुदखाना भनिन थाल्यो । यहाँ सैनिकहरूले पहरा गरिरहेका हुन्थे । कसैलाई पनि भित्र जान दिँदैनथे ।’
वि.सं. २००७ सालमा जन्मिएका मानकाजी निर्दलीय पञ्चायत काल, बहुदलीय प्रजातान्त्रिक शासन काल, राजाको प्रत्यक्ष शासन काल र गणतन्त्रकालसमेत व्यहोरेका व्यक्ति हुन् । उनकाे बाल्यकाल यही बारुदखानासँग जोडिएको रहेछ ।
करिब १२/१३ वर्षको हुँदा मानकाजी उनका साथीहरूसँग बारुदखाना वरपर खेल्न जान्थे । त्यहाँका सैनिकहरूसँग उनको राम्रै सम्बन्ध थियो । उनीहरूबीच कुराकानी हुन्थे । गफगाफ चल्थ्याे । तर सैनिकहरूले उनलाई कहिल्यै त्यो घरभित्र छिर्न दिँदैनथे । त्यहाँ के छ हेर्न दिँदैनथे ।
राजा त्रिभुवनको शासन कालदेखि नै त्यहाँ बारुदखाना रहेको मानकाजी बताउँछन् । बारुदखाना वरपर सैनिकहरू बसेका हुन्थे । चारजना सैनिकहरू घरको चार कुनामा राइफल लिएर बसेका हुन्थे । अन्य सैनिकहरू परपरसम्म बसेर पहरा दिइरहेका हुन्थे । जम्माजम्मी १५ जना सैनिकको यहाँ चौबीसै घण्टा पहरा चलिरहेको हुन्थ्यो ।
मानकाजीको स्मरणमा अझै यी सबै कुराहरू ताजै छन् । भन्छन्– ‘लडाइका बेला राजाका सेनाले प्रयोग गर्ने बमबारुदहरू यहाँ भण्डारण गरिएका थिए । बेलाबेलामा सैनिकहरू ट्रकमा बमबारुद जस्ता हतियारहरू ल्याएर यो घरमा भण्डारण गर्थे । कहिलेकाहीँ यहाँबाट लैजान्थे पनि ।’
प्रायः बम, बारुद भएको ठाउँमा आगलागीको खतरा हुन्छ । यसबारे त्यहाँका सैनिकहरू पनि निकै सतर्क रहन्थे ।
उनले सम्झे– ‘ती सैनिकले बारुदखाना घरको अलिपर खाना पकाएर खान्थे । वरपर बारुद पड्कन्छ भनेर कसैलाई पनि आगो बाल्न दिँदैनथे ।’
त्यसपछि दुवाकोकाे त्याे पुरानाे घरमा बम, बारुद ल्याउनेलाने काम कहिल्यै भएन । जीर्णशीर्ण र थोत्रो भएको बारुदखाना घरलाई एकदिन सेनाले नै भत्काएछ । नामेट पारेछ । ऐतिहासिक बारुदखाना भत्काएर अहिले यहाँ सेनाले सैनिक परिवारका लागि आवास(क्वाटर) बनाउँदै छ ।
तर, त्यही पुरानो घरको सम्झनामा अहिले पनि यस ठाउँकाे नाम बारुदखाना नै छ । नवआगन्तुक र नवयुवालाई आश्चर्य र त्रासमिश्रित उत्सुकतामा पार्दै यो ठाउँलाई बारुदखाना नै भनिन्छ ।
यो रुटमा यात्रा गर्नुभयो भने तपाइँले पनि बारुदखाना चाेक देख्नु होला । बसका सहचालकले ‘बारुदखाना, बारुदखाना’ भन्दै चिच्याइरहेकाे सुन्नु हाेला । स्थानीयले बारुदखाना भनेकाे सुन्नु होला । तर, नआत्तिनुस्, नडराउनुस् । यहाँ बारुद छैन । बारुद राख्ने घर पनि छैन । केबल नाम छ । केबल सम्झना छ– ‘बारुदखाना’ ।