सुरुमै ठक्कर खाएर अघि बढेका अर्जेन्टिना र अष्ट्रेलिया भिड्दै
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको दोस्रो खेलमा शनिबार राति अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ हुनेछ। अहमद बिन अली स्टेडियममा हुने खेलमा दुवै टोली पछिल्लो लयलाई कायम राख्ने लक्ष्यमा हुनेछन्।
कतारमा पहिलो खेलमा ठक्कर खाएका दुवै टोली त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नकआउटमा पुगेका हुन्। पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ ले पराजित भएको थियो। अर्जेन्टिना पनि पहिलो खेलमा साउदीसँग २–१ ले पराजित भएको थियो।
सुरुमा आ आफ्नो खेलमा अग्रता लिएका यी दुवै टोलीले पहिलो खेलमा अग्रता बचाउन सकेनन्। तर त्यसपछिका खेलमा सुधार गर्दै दुवै खेल जित्दा नकआउटमा स्थान बनाएका हुन्।
अष्ट्रेलियाले ट्युनिसिया र डेनमार्कलाई समान १–० ले पराजित गरेको थियो। अर्जेन्टिनाले पनि पछिल्ला दुई खेलमा मेक्सिको र पोल्याण्डलाई समान २–० ले पराजित गरेको थियो।
आजको खेल जित्ने टोली क्वार्टर फाइनलमा पुग्ने छ। दुई पटकको विश्व विजेता अर्जेन्टिना पटक पटक अघि बढेको टिम हो। तर अष्ट्रेलिया भने पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाउन चाहन्छ। यी दुई टोली ७ पटक भिडेका छन्। जसमा एक खेल अष्ट्रेलियाले जितेको छ भने ५ खेलमा अर्जेन्टिना विजयी भएको छ। एक खेल बराबरीमा टुङ्गिएको थियो।
अर्जेन्टिना समूह सी को विजेता र अष्ट्रेलिया समूह डी को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यो खेलका विजेताले नेदरल्याण्ड्स र अमेरिकाको विजेतासँग क्वार्टर फाइनलमा भिड्ने छ।