बढ्दैछ साइबर अपराध, दैनिक ४२ उजुरीमाथि छानविन गर्दै प्रहरी
काठमाडौँ । ‘विज्ञान वरदान हो कि अभिशाप’, धेरैजसो विद्यालयमा यो शीर्षकमा वादविवाद गर्ने गरिन्छ । कसैले विज्ञानलाई बरदान मान्छन् । त कोही यसलाई अभिशापको रुपमा पुष्टि गर्न अनेक तर्क दिन्छन् । तर, वास्तवमा विज्ञान बरदान हो । यद्यपी, यो गलत प्रयोगका कारण अभिशाप बनिदिन्छ ।
पछिल्लो समय अनलाइन एपका रुपमा विकासित भएका टिकटक, फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल विज्ञान प्रविधिको उपज हो । बिज्ञानकै बरदान हो । सञ्चारको लोकप्रिय माध्यम बनेको फेसबुक । त्यस्तै, आफ्ना रमाइला, ऐतिहासिक, दुःखका पलहरु, मनोभावनाहरु, आह्वानहरु, विचारहरु संग्रह गर्न, सार्वजनिक गर्न महत्वपूर्ण माध्यम बनेको छन् यी माध्यम ।
यी मध्य पनि पछिल्लो समय विकसित भएर प्रयोगमा आएको टिकटक अहिले सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले पनि टिकटकमा भिडियो बनाउने र आफ्ना भावना तथा अवस्थाहरु सार्वजनिक गर्ने गरेका छन् । हुँदाहुँदा अहिले त टिकटक वस्तु तथा सेवा व्यापारको विज्ञापन गर्ने भरपर्दो माध्यमका रुपमा समेत स्थापित भइसकेको छ । यो माध्यम प्रयोगमा आउँदा सुरुसुरुमा फुर्सदको समय सदुपयोग गर्न टिकटक बनाउने चलन थियो । तर, हाल यसको लोकप्रियता र प्रयोग यतिसम्म बढेको छ कि फुर्सद निकाल्न टिकटक बन्द गर्नुपर्ने अवस्था छ ।
टिकटक जस्ता सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ता सजग नभई देखासिकी गर्ने प्रवृत्तिका छन् । यस्ता सञ्जालमा ‘भाइरल’ हुन (व्यापक चर्चा बटुल्न) मानिसले अनेक विकृत हर्कत गर्न थालेका छन् । सामाजिक मूल्यमान्यता, नियम, कानुन, नैतिकता, आचरण, मानवीय मूल्यमान्यता सबै बिर्सिएर भाइरल हुन अनेक हर्कत गरिरहेका छन् ।
यसले समाजमा विकृति, विसङ्गति, अश्लिलता, अनैतिकता, क्रुरता, अपराध र एक्लोपना बढाइरहेको छ ।
सामाजिक सञ्जालहरु मध्य पनि पछिल्लो समय टिकटकले समाजमा सबैभन्दा बढी विकृति फैलाएको पाइएको छ । विभिन्न ट्रेण्डलाई पछ्याउँदै भाइरल हुने चाहनाले मानिसले अश्लिलता अवलम्बन गरिरहेको देखिन्छ ।
कहिलेकाहीँ परिवारमा बसेर टिकटक हेर्दा भिडियोमा प्रयोग भएका अपशब्द, अश्लिल शब्दहरुका कारण असहज वातावरण सिर्जना हुन्छ । उपद्रो नाच, अङ्ग प्रदर्शन, अश्लिल भाषाशैली, क्रुरता, विभत्सता जस्ता शैली अपनाइरहेको पाइन्छ । यसले टिकटक प्रयोग गर्ने सबैको मनस्थितिमा नराम्रो असर गर्दछ । अझ बालबालिकोको बाल मष्तिष्कमा यसले गाढा रुपमा नराम्रो छाप पार्दछ । यस्ता अश्लील भिडियोले समाजमा अपराधिक घटनालाई बढाउँछ ।
टिकटककै कारण दुर्घटनामा परेर धेरैले ज्यान गुमाइसकेका छन् । यसले गर्दा अमेरिका, भारत, पाकिस्तानलगायत देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।
यद्यपी विज्ञानको बरदान मानिएको यस्ता सामाजिक सञ्जालको सही प्रयोग गर्न सके यो ज्ञान र सूचनाको भरपर्दाे माध्यम बन्न सक्छ । बालबालिका र युवाका लागि मार्ग दर्शक बन्न सक्छ । त्यसकारण सामाजिक सञ्जालको सही प्रयोग बढाउन सम्बन्धित निकायले सामाजिक सञ्जालमाथि कडा नियमन गर्नुपर्ने देखिन्छ । यसमा गल्ती गर्नेलाई कारवाही गर्ने कडा व्यवस्था गर्नुपर्ने देखिन्छ ।
नेपाल प्रहरीको साइबल ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्कीका अनुसार अहिले टिकटकमा अश्लील सामाग्रीहरू राख्ने अरुलाई पठाउने, ओरिजिनल सिर्जनाहरू चोरेर त्यसको कपी पोस्ट गर्ने, सामाजिक सञ्जालमा अरुकै नाम र तस्वीर प्रयोग गरेर, प्रोफाइल/पेज खोलेर गालीबेइज्जती गर्ने र नग्न तस्वीरमा आफूलाई मन नपरेको व्यक्तिको अनुहार जोडेर इन्टरनेटमा हाल्ने, इमेल वा मोबाइलको एसएमएसमार्फत धम्की दिने, पैसा असुली गर्ने जस्ता विकृति तथा अपराधहरु हुने गरेको बताउँछन् ।
त्यस्तै, बहुमूल्य सामान पठाइदिन्छु भनेर सामाजिक सञ्जालमार्फत एसएमएस र फोटो पठाउने, सामानको पैसा बैंकमा जम्मा गर्न लगाउने, पैसा जम्मा भएपछि सामान नपठाउने जस्ता थुप्रै उजुरीहरू साइबर ब्यूरोमा आउने गरेको उनले बताए ।
खड्कीका अनुुसार यस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सजिलो छैन । र यी सञ्जालमा देखिएका यस्ता अवाञ्छित प्रवृतिलाई निमिट्यान्न पार्न पनि सकिँदैन । तर, नियन्त्रण गर्न भने सकिन्छ ।
‘अहिले सामाजिक सञ्जालबाट दुःख पाएका धेरै व्यक्ति छन्,’ उनले भने, ‘त्यसकारण साइबर ब्यूरोमा उजुरी दिनेको संख्या पनि दिनानुदिन बढ्दै छ ।’
खड्कीका अनुसार वि.सं. २०७८ मा साइबर अपराधसम्बन्धी २ हजार ९४२ ओटा उजुरी दर्ता भएका थिए । वि.सं. २०७९ सम्ममा ८ हजार ओटा निवेदन दर्ता भइसकेका छन् । ब्यूरोले दिनमा औषत ४२ ओटा उजुरीमाथि छानविन गरी कानुनी उपचार दिने गरेको उनले बताए । त्यसबाहेक कानुनी सल्लाह, सुझाव दिई दैनिक सरदर ५० ओटा उजुरीमाथि निगरानी गरिहेको छ ।
सामाजिक सञ्जालमा हुने अपराध नियन्त्रण गर्नकै लागि साइबर ब्यूरोले ७ ओटै प्रदेशमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यदि नीतिबद्ध रुपमा आए सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, कलेज, सामुदायिक र महिला तथा बाल अधिकार रक्षाका लागि काम गर्ने संस्थामा पनि जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताए ।
तर दण्द सजाएबाट कोहि दोषी उम्कन नसक्ने र विद्युतीय कारबाही ऐन २०६३ परिच्छेद नं.९ अनुसार दण्द सजाय पाउने बताए । उक्त परिच्छेदमा अपराधको प्रकृतिअनुसार रु.५० हजारसम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै हुनसक्ने कानुन उल्लेख छ ।
सामाजिक सञ्जाल सही सदुपयोग गरे हाम्रालागि बरदान साबित हुन सक्छ भने दुरुपयोग गरे श्राप बन्न सक्छ । आजभोलि हवाईटिकट, बिजुलीको बिल, पानिको बिल, सिनेमाको टिकट, अस्पतालको बिल वा बैंकिङ सेवा सामाजिक सञ्जालबाटै प्राप्त गर्न सकिन्छ । त्यसकारण सामाजिक सञ्जालको सहि सदुपयोग गरौँ र गराऔँ ,