सत्ता गठबन्धनमा बहस : प्रधानमन्त्रीमा आलोपालो कि पाँचै वर्ष !
गठबन्धनकै सरकार बनाउन सहमत शीर्ष नेताहरू आलोपालो कि पाँचै वर्ष एउटै प्रधानमन्त्री रहने गरी पावर सेयरिङ गर्ने भन्नेमा निचोडमा पुगेका छैनन् ।
गठबन्धनको सरकार बनेपछि नेताहरूले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।
गगन थापा
महामन्त्री, नेपाली काँग्रेस
काँग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री हुने बाहिर सार्वजनिक भएकै कुरा हो । अहिले कोबाट सुरुवात हुन्छ भन्ने कुराचाहिँ सहमतिमा गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो विषयमा शीर्ष नेताहरुबीच निर्वाचन पछाडि पनि छलफल भएको छ ।
रेखा शर्मा
नेतृ, माओवादी केन्द्र
काठमाडौँ । ४ मंसिरमा भएको निर्वाचनको चुनावी परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको पनि मत गणना सकिएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम दिने तयारी गरिरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू सरकार गठनमा केन्द्रित भएका छन् ।
गठबन्धनकै सरकार बनाउन सहमत शीर्ष नेताहरू आलोपालो कि पाँचै वर्ष एउटै प्रधानमन्त्री रहने गरी पावर सेयरिङ गर्ने भन्नेमा निचोडमा पुगेका छैनन् । निचोडमा नपुगेको भाव सत्ता गठबन्धनका घटक दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूको सार्वजनिक अभिव्यक्ति दिइरहेको छ ।
नेपाली काँग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवासँग भिड्ने तयारी गरिरहेका काँग्रेस महामन्त्री गगन थापा शीर्ष नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश नचल्ने बताउँछन् । वर्तमान सत्ता गठबन्धन निर्माणका क्रममै चुनावपछिको सरकारमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको भन्ने चर्चा चलिरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।
मंगलबार गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताहरूले निजी कम्पनी चलाएजस्तो सरकार नचल्ने तिखो टिप्पणी गरेका हुन् ।
‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शङ्का छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौँ’ महामन्त्री थापा भन्छन् । तर, शीर्ष नेताहरूप्रति उनको तिखो टिप्पणी छ, ‘गठबधनको सरकार बनेपछि नेताहरूले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन् । लुकाउँछन् । भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि भन्छन् । बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’ सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनको सुझाव छ । पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा उनको जोड छ ।
तर, सत्ता घटक नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा काँग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको बताउँछिन् ।
बुटवलमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन् ‘आलोपालो प्रधानमन्त्री हुने बाहिर सार्वजनिक भएकै कुरा हो । अहिले कोबाट सुरुवात हुन्छ भन्ने कुराचाहिँ सहमतिमा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
को व्यक्ति प्रधानमन्त्री हुन्छ भन्ने प्रधान नभएको र गठबन्धनबाट के गर्ने भन्ने विषय प्रधान रहेको उनको भनाइ छ । प्रधानमन्त्रीको टुङ्गो लगाउन शीर्षनेताहरुबीच छलफल भइरहेको उनी बताउँछिन् । उनी थप्छिन्, ‘जहाँसम्म प्रधानमन्त्री को हुन्छ भन्ने प्रश्न छ, त्यो सहमतिका आधारमा हुनुपर्छ । हाम्रा शीर्षनेताहरुकाबीचमा एउटा छलफल भयो । निर्वाचनभन्दा अगाडि पनि उहाँहरूले छलफल गर्नुभयो ।’अब बन्ने सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने कुरा महत्त्वपूर्ण भएको शर्मालाई लाग्छ ।
नेता शर्माले भने जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार आलोपालोको सरकार हुने चुनाव अगाडि नै सङ्केत गरेका थिए । सोही अनुसार माओवादी केन्द्रले चुनावी घोषणापत्र समेत ल्याएको थियो । गठबन्धनमा रहेको नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रष्ट रूपमा सरकारको दाबी गर्दै चुनावी घोषणापत्र ल्याएका थिए । यस अनुसार प्रचण्ड आफू पहिलो प्रधानमन्त्री बन्ने प्रयासमा छन् । तर, काँग्रेसका कतिपय नेताहरू प्रचण्डको यो भनाइमा सहमत छैनन् । पार्टीभित्रको विरोधी स्वरलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि देखाइरहेका छन् । काँग्रेस सके पाँचै वर्ष काँग्रेसको नेतृत्वमा सरकार बनाउन चाहन्छ । आलोपालो नै गर्ने भए पनि पहिले काँग्रेसले सरकारको नेतृत्व गर्न पाउनु पर्नेमा छ ।
काँग्रेस नेताहरूले गठबन्धनमा सरकार गठन तथा अन्य विषयमा प्याकेजमा डिल गर्न खोजेका छन् । यही सन्देश लिएर काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डसँगको भेटपछि उनले सञ्चार कर्मीहरूसँग सरकार गठनको विषयमा नै पछिल्ला भेटघाट केन्द्रित भएको बताएका थिए ।
काँग्रेसले जस्तै नेकपा एकीकृत समाजवादीले पनि सरकार गठनको विषय मात्र भन्दा प्रदेश सरकारहरूसहित अन्य नियुक्तिलगायतका विषयमा ठोस प्रस्ताव र प्याकेजमा डिल गर्न सक्नु राम्रो हुने बताइरहेको छ ।
तर, गठबन्धनमा सही रूपमा सहमति कार्यान्वयन हुन नसक्ने समस्या आउन सक्ने भनी माओवादी केन्द्रका नेताहरू बार्गेनिङ गरिरहेका छन् । कुनै हालतमा आलोपालो सरकारको नेतृत्व हुनुपर्नेमा माओवादीका नेताहरू बताउँछन् ।
प्रधानमन्त्रीका साथसाथै गठबन्धनका घटकमा सरकारको नेतृत्व सहित र सभामुख तथा उपसभामुखमा पनि आफ्ना उम्मेदवार निर्वाचित गर्न सक्छ । गठबन्धनले प्रदेशसभामा पनि बलियो उपस्थिति बनाएका कारण राष्ट्रपति पद पनि पाउन सहज देखिएको छ ।
निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम बुझाए लगत्तै राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउने छिन् ।
निर्वाचन परिणाम आएको ३० दिनभित्रै संसद्को बैठक पनि बोलाउनुपर्ने व्यवस्था छ । पहिलो संसद् बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने नियम छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल पनि आगामी फागुनभित्र सकिँदै छ ।
गठबन्धनमा काँग्रेससँग सहकार्य गरिरहेका प्रमुख दुई शक्ति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले नयाँ सरकार बन्नुअघि तीन वटै पदबारे एकसाथ सहमति हुनुपर्ने माग राखेका छन् ।
गठबन्धनको प्रमुख साझेदार दल माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल प्रमुख तीन पदहरू तीन वटा मुख्य दलहरुमा बाँडफाँट हुनुपर्ने बताउँछन् । ‘प्रमुख तीन वटा पद जो छन् ती मुख्य तीन पार्टीमा हुने गरी टुङ्ग्याउनुपर्छ’, पौडेलले भने ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पनि आफ्नो पार्टीलाई प्रमुख तीन पद मध्ये एक वटा प्रमुख पद भाग लाग्ने अपेक्षा गरेको बताउँछन् । ‘अहिलेसम्म कुन दलले के राख्ने भन्ने भइसकेको छैन । आन्तरिक संवाद तीव्र भएका छन्’ खतिवडाले भने ।
काँग्रेसका प्रवक्ता प्रकाश शरण महत छलफलबाट सबै टुङ्गो लाग्ने बताउँछन् । ‘गठबन्धनको नेतृत्व गरेका हिसाबले पनि सबैभन्दा ठुलो दल काँग्रेसले नै सरकारको नेतृत्व गर्छ । बाँकी पदहरूमा कसको दाबी भन्दा पनि छलफलबाट टुङ्गो लगाइन्छ’, महतले भने ।