प्रदेश १ मा जसपा निर्णायक, कसरी बन्ला सत्ता समीकरण 

विराटनगर । प्रदेश १ मा दलहरू कसको नेतृत्वमा सरकार बनाउने भन्ने जोड घटाउमा जुटेका छन् । समानुपातिकबाट आएको नामको आधारमा सरकार बनाउन कसलाई सजिलो हुने भन्ने स्पष्ट खाका देखिएको छैन ।

अहिलेसम्म चुनावी तालमेलका आधारमा एमालेले सरकार बनाउने अड्कल गरिएको भए पनि स्पष्ट आधार देखिँदैन । निर्वाचन आयोगले अहिलेसम्म कुन दलको कति सांसद संख्या भन्ने यकिन गरेर अन्तिम परिणाम सार्वजनिक गरिसकेको छैन ।

९३ जना सांसद हुने प्रदेश १को प्रदेश सभामा ५६ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् भने ३७ जना समानुपातिक सूचीबाट प्रदेश सभामा आउँदै छन्  । समानुपातिक सूचीमा परेका सांसदहरू मध्येबाट कुन क्लष्टरबाट कुन सांसद आउने भन्ने निर्क्यौल हुनै बाँकी छ ।  प्रत्यक्षमा सबैभन्दा बढी २५ सिट ल्याएर एमाले पहिलो पार्टी बनेको अवस्थामा १५ सिट समानुपातिकबाट आउँदा ४० पुगेको छ।

नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट ल्याएकोमा समानुपातिकमा १२ सिट सहित २९ सिटमा कायम भएको छ।  नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ सिट ल्याएकोमा समानुपातिकबाट ४ सिट ल्याएर १३ सिटमा खुम्चिएको छ। यस अघि प्रदेश सभामा नेकपा माओवादी केन्द्र १६ सिटमा थियो ।

पहिलो प्रदेश सभामा एउटा समानुपातिक सिटमा सीमित रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर ४ को निर्वाचनबाट प्रत्यक्षमा २ सिट र समानुपातिकमा ४ सिट गरी ६ सांसद सहित प्रदेश १ सभामा चौथो ठुलो दलको रूपमा स्थान बनाएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सिट गरी  ४ सांसद  लिएर प्रदेश सभाको पाँचौँ दलको रूपमा देखिनेछ । एमाले विभाजनपछि  १० सांसद  लिएर मुख्यमन्त्री पाएको  एकीकृत समाजवादी पाँचौँ  दलको रूपमा प्रदेश सभामा देखिने छ भने  यस अघि ३ सिटमा रहेको जनता समाजवादी पार्टी निर्वाचन पछि समानुपातिक एक सिटमा सीमित हुनेछ ।

प्रदेश १ सभामा कुनै पनि दल निर्वाचन पछि बहुमतमा पुग्न सकेनन्  । २०७४ सालको निर्वाचनमा एमाले एक्लैले ५१ सिट ल्याएर बहुमत कायम गरेको अवस्थामा  निर्वाचन पछि ४० सिटमा समेटिएको छ  ।

कुनै दलको बहुमत नभएकोले प्रदेश १ मा सरकार बनाउन धेरै दलहरू मिल्नु पर्ने अवस्था छ। निर्वाचनको बेलामा गठबन्धन गरेर चुनावी मैदानमा होमिएका दलहरू  मिल्दा नेकपा एमाले नेतृत्वमा प्रदेश १ मा सरकार बन्ने देखिन्छ ।

निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका थिए । आगामी सरकार निर्माणको समीकरण चुनावी तालमेललाई आधार मान्दा प्रदेश १ मा सरकार बनाउन चाहिने  ४७ सिट मध्ये एमाले, राप्रपा र जसपा मिल्दा बनाउन सक्ने देखिन्छ ।

नेकपा एमालेको ४०, राप्रपाको ६ र जसपाको १  नै सरकार बनाउन चाहिने ४७ जना सांसद बहुमत सांसद हो ।  जसपाले गर्ने निर्णयमा अहिले एमाले देखिएको छ।  सत्ता गठबन्धन पनि अहिलेको अवस्थामा कमजोर देखिएको छैन ।

 सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू छन्  । यी ३ दल एक ठाउँमा हुँदा ४६ सांसद पुग्ने देखिएको छ।

यस्तो अवस्थामा जनता समाजवादीको एक जना सांसद सरकार बनाउन निर्णायक हुन सक्छ ।  सरकार बनाउने वा गिराउने नेतृत्व आगामी ५ वर्ष जसपाको एक जना सांसदको हातमा देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *