५० करोडको लगानीमा ‘आरजु राकस मिल’ सञ्चालनमा, गाउँमै मिल आएपछि किसानहरू खुसी (भिडिओ)
विराटनगर । मोरङको रंगेली नगरपालिकाका किसान दिल बहादुर थापा लामो समयदेखि धानको समर्थन मूल्य नपाउँदा हैरान थिए । बर्षे धान होस् या चैते धान नै किन नहोस् बिचौलिया कारण समर्थन मूल्य नपाएकै कारण हरेक वर्ष समस्या झेल्दै आए ।
किसानको लागि कहाँबाट फाइदा होला भन्ने उनलाई सधैँ लागि रह्यो । उनले बेलवारी नगरपालिका वडा नम्बर ९ मा आरजु राईस मिलले किसानसँग आयोजना गरेको अन्तरक्रियाको क्रममा राम्रो समर्थन मूल्य दिने कोही नभेटिँदा किसानले हरेक वर्ष न्यून मूल्यमा धान बेच्नु परेको गुनासो सुनाए । कानेपोखरीका किसान गोपाल बहादुर दाहाल किसानको लागि फाइदा पुग्ने खालका कुनै पनि कार्यक्रमहरू नआउँदा किसानहरू अन्यौलता हुने गरेको बताए । धान उत्पादक किसानले समर्थन मूल्य नपाउँदा हरेक वर्ष समस्या झेल्दै आएको बताए ।
बेलवारीकै अर्का किसान राजकुमार बरालले यो वर्षको धानको समर्थन मूल्य ९ सय हुनेमा आशावादी रहेको बताए । ‘यो वर्ष हामीलाई मिलले समर्थन मूल्य ९ सय प्रति मन कायम गर्ला भन्ने लागेको थियो, राजकुमारले भने, हामीले सोचे अनुसारको समर्थन मूल्य कायम भएको छ, मिलले किसानलाई राहत मिलेको छ।’ किसानको समस्याको बारेमा सुनेर बसेका आरजुृ मिलका कार्यकारी अध्यक्ष तथा सरकारी अधिकारीहरू किसानको समस्या समाधान गरेर जान तयार रहेको बताउँछन् । कानेपोखरी, बेलवारी, धनपालथान तथा रंगेलीका करिब एक सय बढी किसानका बिचमा उत्पादन वृद्धिको लागि सबै एक भएर लाग्नु पर्नेमा बताउँछन् ।
प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले उपभोक्ताले महँगोमा चामल किनेर खानु पर्ने , किसानले न्यून मूल्य पाउने समस्या लामो समयदेखि भएको बताए । प्रदेश कृषि मन्त्रालयले सङ्घीय सरकारसँग मिलेर आरजु राईस मिल मार्फत किसानसँग जानको लागि मिललाई आवश्यक पर्ने धानको जातको बिउ उत्पादन प्रवर्द्धन गर्न उत्पादन कोलागि आवश्यक पर्ने मेसिनरीहरु प्रदेशमा आवश्यक पर्ने अनुदान ऐन नियमावली अनुसार गर्न तयार रहेको बताए । ‘यहाँ बसेर पनि विदेशको जतिकै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हामी दिन तयार छौँ, उनले भने। सरकार किसानको लागि संरक्षण गर्न र युवालाई राम्रो आम्दानी गर्ने वातावरण बनाउन तयार छ ।’
आरजुले तोक्यो समर्थन मूल्य ९ सय
आरजु राईस मिलले किसान, प्राविधिक, सङ्घीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। प्रति मन रु.९०० तोकेको हो । धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्ने भनिएको छ । धान मिलमा ल्याइएको दुई दिनभित्रै बैङ्किङ प्रणालीबाट किसानको बैङ्क खातामा रकम जम्मा हुने सुनिश्चितता गरिएको आरजु मिलका सञ्चालक बिरेन्द्रबहादुर बस्नेतले बताए ।
आरजु मिलले किसानबाट खरिद गरेको धानको मूल्य बैङ्क मार्फत खातामा पठाउँदा किसानहरूको बैङ्कमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने जनाइएको छ। किसानलाई खेतीपातीका लागि चाहिने चालु पुँजीको जोहो पनि सजिलो हुनेछ बस्नेत बताउँछन् । ‘किसानसँग मिलेर समन्वय गरेर मिल चलाउँदा घाटा जाँदैन भन्ने नै हो, उनले भने, यसबाट किसानलाई पनि फाइदा पुग्ने छ, हामी सिधै किसानसँग धान खरिद गर्ने छौँ ।’
नेपाली किसान बाहेक कहिंकतैबाट धान नभित्र्याउने बताएका आरजु राईस मिलका कार्यकारी अध्यक्ष बस्नेतले किसानसँग सिधै खरिद गर्ने अन्यथा भारतबाट धान आयात गर्ने काम आफूले नगर्ने बताए । ‘अर्बौ खर्बौको खाद्यान्न आयातलाई अब हामी सबै मिलेर निरुत्साहित गर्नुपर्छ उनले भने, खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन्, विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो ।’ आरजु राईसमिलले १५ टन धान सुकाउने ४ टन प्रतिघण्टा कुटाउने क्षमता राखेको छ । वर्षमा २५ हजार टन धान कुटाउने क्षमता यो मिलले राख्ने कार्यकारी अध्यक्ष बस्नेतले जानकारी दिए । बजारको मागको आधारमा किसानले धान खेती गर्नु पर्ने बताएका उनले रामधान अहिलेको उपयुक्त धान भएकोले यसको लागि किसानलाई मिलको तर्फबाट पनि सहयोग हुने बताए ।
मिलले किसान र प्रदेश कृषि मन्त्रालयका बिचको हातेमालोले किसान, मिल र सरकारी निकायका बिचमा नयाँ मोडेलको रूपमा अघि बढ्न सकिने बताइएको छ । धानको समर्थन मूल्य ९ सय कायम गरेको र अब किसानले मिलको लागि २५ हजार टन धान मिललाई पुरा गर्न आग्रह गरिएको छ। मिललाई पूर्ण सञ्चालनको लागि ४ हजार बिगाहा जमिन र २२ हजार मेट्रिकटन धान चाहिएको बस्नेतले बताए ।
खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ । यसमा पनि धेरैजसो वर्षे धान छ । धानको खेती दुई चोटि भएमा किसानले थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी खेल्नेछन् । अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको धान विज्ञ डा राजेन्द्र उप्रेतीले बताए । आरजु राईस मिलले किसानहरूलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ । आरजु राईस मिल गाउँघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ । यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको उप्रेतीले बताए ।
उप्रेतीले धानमा परिवर्तनको सुरुवात मोरङबाट गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताए । १२ जातका धान अहिले पनि १२० दिनमा नै उत्पादन हुने खालको रहेकोले मसिना धान छोटो समयमा उत्पादन गर्न उनले किसानलाई आग्रह गरे ।
कृषि केयरका निर्देशक डा. रामचन्द्र खनालले किसान र सहकारीसँग मिलेर काम गर्दै आएको भए पनि किसान र मिल बिचको सहभागिता नहुँदासम्म किसानले धानको मूल्य नपाउने देखेर मिलको अवधारणा आएको बताए । मिलले मूल्य शृङ्खलासँग किसानलाई जोड्र लग्ने काम गरेको बताए ।