गण्डकी प्रदेशबाट निर्वाचित समानुपातिक सांसद : प्रदेशमा २४ र प्रतिनिधि सभामा ७
पोखरा । गण्डकी प्रदेश सभा र प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक सीट बाँडफाँट सकिएको छ । गण्डकीबाट प्रदेश सभामा २४ जना र प्रतिनिधि सभामा ७ जना मात्रै सांसद निर्वाचित भएका छन् । प्रतिनिधि सभामा कांग्रेस, एमाले र रास्वपाबाट २÷२ तथा माओवादीबाट एकजना सांसद बनेका हुन् ।
कांग्रेसबाट प्रतिनिधि सभामा जीवन परियार र रेनुका काउचा सांसद बनेका छन् । पर्वत घर भएकी कुसुम थापा पनि सांसद बनेकी छिन् । उनी अहिले रुकुम पुर्वमा सरेकी छिन् । एमालेबाट परिवार दलका अध्यक्ष एकनाथ ढकाल र व्यवसायी देवी भट्टचन सांसद बने ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा। ढाकाकुमार श्रेष्ठ र शिव नेपाली तथा माओवादीबाट हितराज पाण्डे सांसदमा निर्वाचित भएका छन् । शनिबार दलहरुले समानुपातिक सांसदको सूची बुझाएका हुन् । निर्वाचन आयोगले निर्णय भने दिएको छैन । १ सय १० समानुपातिक सांसद मध्ये गण्डकीबाट ७ जना मात्रै समेटिए ।
प्रदेश सभामा कांग्रेसबाट दिलमाया पौबी, टीकाकुमारी बस्याल, विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ निर्वाचित भए । यस्तै, सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी सांसद बन्ने पक्का भएको छ ।
नेकपा एमालेबाट यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा सांसद बन्दै छन् । दलित तर्फ नन्दकला दमाई र गोविन्दबहादुर नेपाली सांसद बन्ने छन् ।
माओवादी केन्द्रबाट दमयन्ती रुचाल, कुसुम बुढा मगर र सुशीला सिम्खडा तथा राप्रपाबाट पञ्चराम गुरूङ र बिन्दु पहाडी निर्वाचित हुने छन् । दलहरुले उनीहरुको नाम आयोगमा बुझाएका हुन् ।