प्रदेश १ : संसदीय दलको नेता बन्न कांग्रेस भित्र चार कित्ता

विराटनगर । प्रदेश १ मा सरकार कसले बनाउने भन्नेमा एमाले र कांग्रेस आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रदेश १ मा ठुलो भएको कारण नेकपा एमाले आफुले सरकार बनाउनु पर्ने भन्दै आन्तरिक तयारी गरिरहेको बताएको छ भने नेपाली कांग्रेस गठबन्धनका कारण सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएकोछ ।

नेकपा एमालेमा अहिले चर्चामा रहेका हिक्मत कुमार कार्की एमालेले सरकार बनाउँदाको मुख्यमन्त्रीका एकमात्र दाबेदारका रुपमा देखिएका छन् । नेपाली कांग्रेसबाट ४ जनाले दाबी गर्दै आएका छन् । प्रदेश सरकारको नेतृत्व गर्न संसदीय दलको नेता हुनु पर्ने भएकाले अहिले नेताहरुको दौडधुप केन्द्रीय नेता रिझाउनमा देखिन्छ । नेपाली कांग्रेस भित्र केन्द्रीय सदस्य अमृत अर्याल, भिम पराजुली, प्रदेश सभापति उद्धव थापा र बहालवाला मन्त्री तथा निवर्तमान संसदीय दलका प्रमुख सचेतक केदार कार्की संसदीय दलको नेतामा प्रमुख दाबेदार छन् ।

नेपाली कांग्रेस भित्रका दाबेदार मध्येका एक थापा नेपाली कांग्रेस प्रदेश १ का सभापति हुन् । थापा संसदीय दलको नेता आफुले स्वतः पाउने दाबी गर्छन् । प्रदेशको सभापति भएको नाताले पनि संसदीय दलको नेता आफु बन्ने उनको जिकिर छ । ‘संसदीय दलको नेता हुनको लागि प्रत्यक्ष र समानुपातिक भन्ने रहँदैन, उनले भने, प्रदेश सभा भित्र प्रवेश गरिसकेपछि सबै सांसदको हैसियत समान हुने भएकोले संसदीय दलको नेता पार्टी सभापतिको हैसितले मैले नै पाउँछु ।’ सभापति थापा कृष्ण सिटौलाको विस्वास पात्रको रुपमा चिनिन्छन् । अहिले सिटौला देउवा लाईनमा रहेको कारण र सभापति पनि भएकोले थापा शसक्त दाबेदारको रुपमा देखिएको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

त्यस्तै अर्का मुख्यमन्त्रीका दाबेदार अर्याल हुन् । उनी २०७० सालको निर्वाचनमा संविधान सभाका सदस्य थिए । संसदीय अभ्यास, मुल्य र मान्यता बुझेको तथा प्रदेश सभा सदस्यमा उम्मेदवार हुँदा नै शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएको बताईन्छ । देउवा लाईनका कट्टर नेता अर्याल मुख्यमन्त्रीको मुख्य दाबेदारको रुपमा हेरिएको छ । अर्याल यस अघि स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरका आकांक्षी समेत थिए । अन्तिममा नागेश कोईरालाले टिकट पाएपछि उनी असन्तुष्ट थिए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको शसक्त दाबेदारको रुपमा रहेको बताउने मध्येका भीम पराजुली पनि हुन् । पाँच बर्ष विराटनगर महानगरपालिकाको मेयर चलाएका पराजुली आफु युवाहरुको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य पराजुली संसदीय दलको नेताको प्रवल दाबेदार रहेको बताउँछन् ।

आफु संसदीय दलको नेता हुँदा सरकार निर्माणमा राप्रपा र जसपाको पनि सहयोग रहने पराजुलीको दाबी छ । ‘म युवाहरु माझ लोकप्रिय छु, धार्मिक रुपमा पनि राप्रपासँग बिचार मिल्छ, त्यस्तो अबस्थामा म संसदीय दलको नेताहुँदा सरकार निर्माणमा सहज हुन्छ, जसपाले पनि सहयोग गर्छ ।’ पराजुली विचारले पार्टी भित्र सिटौला निकट मानिन्छन् । अर्का संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्ने केदार कार्की हुन् । प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा आफु बाहेक अर्को बिकल्प नभएको कार्कीको भनाई छ। प्रदेश सभाको निर्वाचन अघिसम्म प्रमुख सचेतकको भुमिकामा रहेका कार्की अहिले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । डा शेखर कोईराला लाईनबाट एक मात्र दाबेदारको रुपमा कार्कीले आफुलाई प्रस्तुत गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *