अर्जेन्टिनालाई बदला लिने मौका, पुरानै नतिजा दोहोर्‍याउने दाउमा क्रोएसिया

काठमाडौँ । विश्वकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा राति पौने १ बजे साविक उपविजेता क्रोएसियाले पूर्व विजेता अर्जेन्टिनाको सामना गर्नेछ । क्रोएसियाले अहिलेसम्म विश्वकप जित्न सकेको छैन भने अर्जेन्टिनाले दुई पटक जितेको छ ।

पहिलो पटक उपाधि जित्ने लक्ष्यमा लगातार दोस्रो पटक फाइनल पुग्न क्रोएसियाले दक्षिण अमेरिकी च्याम्पियनलाई पन्छाउनु पर्नेछ । यता अर्जेन्टिना भने स्टार फरवार्ड लियोनल मेस्सीको कप्तानीमा अन्तिम पटक विश्वकप जित्ने लक्ष्यमा छ ।

यसअघि २०१८ को विश्वकपमा एउटै समूहमा थिए अर्जेन्टिना र क्रोएसिया । जतिबेला क्रोएसियाले सहज जित हात पारेको थियो । अर्जेन्टिना ३–० ले पराजित भएको थियो । जारी विश्वकपमा क्रोएसिया अपराजित छ भने अर्जेन्टिनाले पहिलो खेल साउदी अरेवियासँग पराजित भएको थियो। त्यसपछि भने अर्जेन्टिनाले खेलमा सुधार गरेको छ ।

क्रोएसियाले समूह चरणमा मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडालाई ४–१ ले पराजित गरेको थियो । अर्जेन्टिना पहिलो खेलमा साउदीसँग २–१ ले पराजित भएको थियो भने त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २–० ले पराजित गरेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले पराजित गर्यो । क्रोएसियाले अन्तिम खेलमा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

क्वर्टरफाइनलमा भने दुवै टोलीले पेनाल्टी सुटआउटमा जित हात पारेका थिए । क्रोएसियाले ब्राजिललाई र अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि यी दुईको भेट लगातार अर्को विश्वकपमा भएको हो ।

१८ औं पटक विश्वकपमा सहभागी अर्जेन्टिना पछिल्लो पटक २०१४ मा फाइनलमा पुगेको थियो । त्यतिबेला जर्मनीसँग पराजित भएको थियो ।
पहिलो विश्वकपमै फाइनलमा पुगेपनि अर्जेन्टिनाले ४८ वर्षपछि १९७८ मा पहिलो पटक उपाधि जितेको थियो । त्यसको ८ वर्षपछि अर्को उपाधि थपेको अर्जेन्टिना त्यसयता उपाधिविहिन छ ।

क्रोएसिया जम्मा छैटौं पटक विश्वकप खेलिरहेको छ । १९९८ मा पहिलो पटक सहभागी हुँदा नै सेमिफाइनलमा पुगे पनि त्यसपछि समूह चरणबाट माथि जान नसकेको क्रोएसिया गएको विश्वकपबाट थप शशक्त देखिएको छ ।

गएको विश्वकपमा इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया फाइनलमा पुगेको थियो । विश्वकपमा यी दुई टोली तेस्रो पटक भिड्न लागेका हुन् । पहिलो पटक १९९८ मा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । दोस्रो भेट २०१८ को विश्वकपमा अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले पराजित गरेको थियो । ती दुवै खेल समूह चरणमा थिए । नकआउटमा भने पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

आजको खेलमा विजयी टोलीले बुधबार हुने साविक विजेता फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानको खेल शनिबार र फाइनल खेल आइतबार राति पौने ९ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *