देशभर २४ भन्दा बढी आगलागीका घटना : अधिकांश आगलागी विद्युत सर्टबाट

काठमाडौँ । मानव जीवनका लागि घाम, पानी र हावा जति महत्वपूर्ण हुन्छ, आगो पनि अत्यत्ति नै महत्वपूर्ण छ । मन्दिरमा धुप बाल्न होस् या मसानघाटमा लास पोल्न, आमाले खाना पकाउँदा होस् या बाले चुरोट सल्काउँदा । सानादेखि ठुला कामका लागि हामीलाई आगो आत्यावश्यक रहन्छ । दुःख त तब लाग्छ, जब यी आत्यावश्क वस्तु नै मानव मृत्युको कारण बन्दछ ।

चैत, वैशाख महिनामा बढी हावाहुरी चल्ने भएकाले आगलागीको जोखिम सबैभन्दा उच्च रहन्छ । विभिन्न सञ्चार माध्यममा आएका वैशाखदेखि मंसिरसम्मका घटनालाई मात्र आधार मान्ने हो भने पनि देशभर २४ भन्दा बढी आगलागीका घटना भएको देखिन्छ । ती घटनाहरूमा १२ भन्दा बढी मानिसको ज्यान गरेको छ भने करोडौँ धनमाल क्षति भएको पाइन्छ ।

वैशाख : २०७९ वैशाख १२ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ५ कमरेटारस्थित राजन ग्रुप कम्पनी प्रालीमा आगलागी भएको थियो । उक्त आगलागीमा लगभग ८ करोडको क्षति भएको थियो ।

जेठ : जेठ ९ गते काठमाडौँको भोटेबहालको पसलमा आगलागी भयो । सोही महिनाको ३० गते दोलखाको शैलुङ्ग गाउँपालिकाको एक घरमा विद्युत सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको थियो ।

साउन : २०७९ साउन १८ र २६ गते आगलागीको घटना भएको थियो । बाजुराको बडीमालिका नगरपालिका–८ रतुडा र सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगलागीमा परी ११ लाख रुपैयाँ बराबर र सप्तरीमा ८ परिवारका घर, गोठ जलेर १४ लाख मूल्य बराबरको क्षति भएको थियो ।

असोज : २८ असोजमा चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगजनी भएको थियो । त्यस्तै धुलिखेलको चाउमिन उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा लगभग १ करोड २५ लाखको क्षति भयो ।

कात्तीक : कात्तीक ८ गते दाङका तीन फर्निचर उद्योेगमा आगलागी भएको थियो । एकै रात दाङका घोराही र उमेश मार्गमा रहेका ३ फर्निचर उद्योगमा विद्युत चुहावटका कारण आगलागी हुन गएको प्रहरीले बताएको थियो ।

कार्तिक १२ गते कैलालीको चैमाला बजारमा भीषण आगलागीका कारण ६ पसल जलेर नष्ट भएको थियो । जिल्ला प्रहरी कार्यालयलका अनुसार करिब ७ ः ३० मा हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

कात्तीक ३० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –६ राईटोलको एउटा घरमा आगलागीमा परी एकजनाको मृत्यु भएको थियो । आत्मराम केसी र हरिशरण केसीको इँटा तथा काठले बनेको तीनतले कच्ची घरमा अचानक आगलागी हुँदा सोही घरमा बस्ने २५ वर्षीय अस्मिता केसीको मृत्यु भएको थियो ।
सोही दिन कोहलपुर नगरपालिका ११ स्थित नविल बैंकको शाखा कार्यालयमा पनि आगलागी भएको थियो ।

मंसिर : सञ्चार माध्ममा आएका घटनाहरूलाई हेर्दा यस महिनामा सबैभन्दा बढी आगलागीको घटना र धन, जनको क्षति भएको छ । मंसिर ५ महोत्तरीमा बुधबार साँझ अचानक पसलमा विद्युत सर्ट भई आगलागी भएको थियो । मंसिर ८ मा रौतहटको सदरमुकाम गौरस्थित माइस्थान चोकमा रहेको इस्लाम कमडा, डस्ना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिका जलेर मृत्यु भएको थियो ।

मंसिर १० गते विद्युत सर्टका कारण खोटाङमा वीर बहादुरको पसल र सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको थियो । २३ गते विद्युत सर्टकै कारण बागडोल, काठमाडौँको न्यु प्लाजा र कपनमा आगलागी भएको थियो ।

एकै वर्षभित्र विभन्न दिनमा भएका आगलागीका घटनालाई हेर्दा विद्युत् सर्ट, ग्यास लिक, पोलमा बेरिएको तारको गुजुल्टोबाट आगो सल्किएर भएको पाइन्छ भने कहीँ आगलागीको कारण नै खुलाइएको छैन । तर अधिकांश घटनाका कारण विद्युत सर्ट नै हो ।

विद्युत सर्ट हुनबाट कसरी बच्ने ?

विद्युत सर्टबाट हुने आगलागीको घटनालाई रोकथाम तथा नियन्त्रण गर्न पहिले घरबेटीहरू आफैँ सचेत रहनुपर्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन् ।

उनका अनुसार विद्युत सर्ट हुनुका मुख्य कारण तारहरूको लुज कनेक्सन, नाङ्गो तार, विद्युत चुहावट र घरबेटीको हेलचेक्रेयाइँ हो ।

भट्टराईका अनुसार विद्युत सर्टबाट हुने आगलागी रोक्न तारहरूको लुज केनेक्सन बेलाबखत चेक गर्ने, काम सकिएपछि बिजुलीका स्रोतहरूलाई बन्द गर्ने, बिजुलीका तारहरूमा समस्या देखिएमा स्थानीय इलेक्ट्रिसियनलाई खबर गर्ने वा विद्युत प्राधिकरणलाई सम्पर्क गर्ने गर्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *