क्रोएसियासँग बदला लिँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
काठमाडाैँ । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को शानदार जितसहित अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो ।
यो सँगै अर्जेन्टिनाले २०१८ को विश्वकपमा हारेको बदला पनि क्रोएसियासँग लिएको छ। २०१८ को विश्वकपमा समूह चरणमा क्रोएसियासँग ३-० ले नै पराजित भएको थियो । लगातार फाइनलमा पुग्ने लक्ष्यमा रहेको क्रोएसियाविरुद्ध पहिलो हाफमै २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल थप्यो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सीले १ गोल गरे । ३४ औं मिनेटमा जुलियन अल्भारेजलाई डिबक्समा गोल रक्षकले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा कप्तान मेस्सी चुकेनन् । त्यसको ५ मिनेटपछि अल्भारेजले क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उत्कृष्ठ फिनिसिङ दिए ।
दोस्रो हाफमा अर्जेन्टिनाले बलमा थप नियन्त्रण बनायो । क्रोएसिया अर्जेन्टिनाको पोष्टमा आक्रमण बुन्न असफल भयो र गरेको प्रहार पनि डिफेन्डर र गोलरक्षकले विफल बनाए । ६९ औं मिनेटमा मेस्सीले पोष्ट नजिकै पु-याएर दिएको ब्याक पासमा अल्भारेजले सहजै जालि चुमाए । त्यसपछि क्रोएसिया खेलमा फर्किनको साटो झनै कमजोर देखिएको थियो ।
यससँगै अर्जेन्टिना ८ वर्षपछि फाइनलमा स्थान बनाएको हो । बुधबार राति हुने फ्रान्स र मोरक्कोको विजेतासँग अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछ ।