घरमा नेहा चौधरी धर्ना बसेपछि डा. पंकज पक्राउ
जनकपुरधाम । दाइजोकै निहुँमा श्रीमतीलाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का अन्दाजी ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
मंगलबार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताए । मंगलवार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा पुगेकी थिइन् ।
तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन् । त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको बुझिएको छ । अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।
डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन् । अहिले घरको गेटमा ताला झुण्डिएको छ । एसपी पंगेनीले कानून बमोजिम पक्राउ गर्नुपर्ने सबैलाई गर्ने बताए । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा। पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो ।