पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न सबै पक्ष सहमत (भिडिओ)
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको छ । सबै सरोकारवाला पक्षबीच भएको छलफलपछि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा मंगलबार राजधानीमा बसेको बैठकले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार मेडिकल कलेज सञ्चालनको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान पहल गर्ने निर्णय गरेका हुन् । मोरङ ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको तदारकतामा डा. शेखरसँगै विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका अधिकारी सहितको बैठकले आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्नेगरी १ महिना भित्र प्रक्रिया पुरा गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले डडेलधुरामा मेडिकल कलेज खोल्ने सरकारको अवधारणा अनुसार तत्काल कोसी अञ्चल अस्पताललाई आङ्गिक बनाएर मेडिकल कलेज सञ्चालन गरिने बताए । उनले अगाडि भने, ‘जसरी डडेलधुरामा मेडिकल कलेज खोल्ने भनिएको छ त्यही आधारलाई मानेर अगाडी बढ्ने र १ महिना भित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर अगाडी बढ्छौँ ।’
प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले आउँदो शैक्षिक सत्रबाट मेडिकल कलेज सञ्चालन गर्नेमा सबै एकमत रहेको बताए । उनकाअनुसार विश्वविद्यालयसँग १ सय वेडको अस्पताल मात्र रहेको तर, चिकित्सा शिक्षा आयोगले ३ सय वेडको अस्पताल चाहिने भनेकोले सोही अनुसार कोसी अञ्चल अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पताल बनाएर आउँदो शैक्षिक सत्रबाट मेडिकल कलेज सञ्चालन गर्नेमा सबै एकमत छन् ।
‘विश्वविद्यालय र कोसी अञ्चल अस्पताल दुवै सरकारकै प्रोजेक्ट हो । तत्कालको लागि माघ १ गतेदेखि अस्पताल पूर्णकालीन सूचारु गर्ने र मेडिकल कलेजको हकमा कोसी अञ्चल अस्पताललाई विश्वविद्यालयको आङ्गिक अस्पतालको रूपमा लिएर डडेलधुरा मोडलमा आगामी शैक्षिक सत्रबाट पठनपाठन सूचारु गर्ने विषयमा छलफल भएको छ ।’ डा. शर्माले भने ।
गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न सबै राजनीतिक दल, सरोकारवाला र नेपाल सरकारका निकायहरू गम्भीर रहेको बताउँदै डा. शर्माले सबै पक्षको सहमति अनुसार अगाडी बढ्ने जनाए । ‘डे एण्ड नाइट काम गरेर हुन्छ की कसरी हुन्छ सबै पक्षको सहमति लिएर हामीहरू अगाडी बढेका छौँ ।’ डा. शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा समेत मोरङमा मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भन्नेमा सकारात्मक रहेको प्रष्ट्याए । ‘उहाँ डडेलधुरावासी भएपछि मोरङलाई त्योभन्दा बढी माया गर्नुहुन्छ । गिरिजाबाबु र बिपी कोइरालासँग अनन्य सम्बन्ध राखेर यहाँसम्म आफ्नो राजनीतिक यात्रा गर्नु भएको प्रधानमन्त्री भएको हुँदा अबको मन्त्रिपरिषद्बाट निर्णय गर्नुहुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’ उनले भने ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले अहिलेको नवनिर्वाचित प्रतिनिधिहरू चिकित्सा शिक्षाको विज्ञका रूपमा रहेकोले मेडिकल कलेज सञ्चालन गराउन ठूलो सहयोग प्राप्त भएको बताउँदै एक महिनाभित्र कानुनी प्रक्रियाहरू पुरा हुने जनाए । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २ वर्षपछि प्राक्टिकलका लागि चाहिने जनशक्ति समेत भएको जनाउँदै अपुग भएको जनशक्ति व्यवस्थापनमा मन्त्रालयले काम गर्ने जनाउँदै दुई वटै संस्था नेपाल सरकारको भएकोले अपनत्व लिन गाह्रो नहुने बताए ।
नवनिर्वाचित प्रदेश सभा सदस्य जीवन आचार्यले विश्वविद्यालय हाताभित्र मेडिकल कलेज सञ्चालन हुनुपर्ने बताउँदै त्यसका कसैको व्यक्तिगत स्वार्थ नभएको र त्यहाँका जनताको आवश्यकता समेत रहेको बताए । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले कलेज सञ्चालन गर्नका लागि मेडिकल काउन्सिलले टेक्निकल सपोर्ट गर्ने बताउँदै आउँदो शैक्षिक सत्रबाटै कलेज सञ्चालन हुन्छ भन्नेमा आफूहरू लागि परेको जिकिर गरे ।
मेडिकल कलेज सञ्चालन गर्न चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार ३ सय वेडको अस्पताल चुनौतिको रूपमा देखिएपनि मन्त्रिपरिषद्ले निर्णय गरेर कोसी अञ्चल अस्पताललाई समायोजन गर्ने भएपछि कलेज सञ्चालनको प्रक्रिया सहज हुने राष्ट्रिय सभा सदस्य गोपी अछामीले बताए । कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सरकारबाट प्रस्ताव अगाडी बढे चिकित्सा शिक्षा ऐन र नियममा अडिग रहेर आयोगले देशको लागि सकारात्मक निर्णय गर्ने चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य डा. दिलीप शर्माको भनाई छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित डा. शर्माले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरे अनुसार उनी कुनै पनि हालतमा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भन्नेमा लागि परेका छन् । २०६५ सालमा ५० वेडको अस्पताल सुरु गरेको विश्वविद्यालयमा हाल बिएस्सी नर्सिङ, पीबीबीएम, बीपीएच, बी फार्मेसी, बीएस्सी एमएलटी, एमपीएच र एम फार्मेसी गरी सात विषयमा अध्ययन अध्यापन भइरहेको छ ।