ठेकेदार पोस्दै पोखरा महानगर, सडकमा पार्किङ गर्न ठेक्का

पोखरा । पोखरा महानगरपालिकाले वर्षौँदेखि सडकमा अवैध पार्किङ गराएर रकम असुल्दै आएको छ । महानगरले पछिल्लो पटक २०७७ मंसिर १४ गते २ वर्षका लागि पार्किङ ठेक्का सम्झौता गरेको थियो । महानगरको आफ्नो छुट्टै पार्किङ स्थल छैन । नगरभित्रका सडक छेउमा अव्यवस्थित पार्किङ हुन्छ । सोही पार्किङबाट रकम असुल्न सधैँ ठेक्का लगाउँछ । २ वर्षअघिको ठेक्का अहिले सकिएको छ । ३ करोड १६ लाख ६० हजारमा फेवा सावित्री कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार मंसिर २७ गतेदेखि ठेक्का सकिएको छ । तर अहिले पनि ठेकेदारले पार्किङ शुल्क उठाइरहेका छन् । ठेकेदार कम्पनीले लकडाउनका कारण आफूहरूलाई नोक्सान भएको भन्दै सम्झौता अवधि बढाउन माग गरेका थिए । महानगरले सोही मागलाई अनुमोदन गर्दै चैत २७ गतेसम्मका लागि म्याद थपिदिएको छ । उक्त म्याद निवर्तमान मेयर मान बहादुर जिसीकै पालामा थपिएको र अहिले सोही निर्णयलाई अनुमोदन गरिएको महानगरका प्रवक्ता मोती तिमिल्सीनाले बताए ।

‘अहिले थपिएको म्याद होइन । पहिले थपिएको रहेछ, अहिले अनुमोदन गरिएको हो,’ उनले भने । सडकमा पार्किङ गरेर पैसा उठाउन नपाइने कानूनी व्यवस्था छ । तर महानगरले कहिल्यै कानुन टेर्दैन । महानगरपालिकाबाट अण्डरग्राउण्ड पार्किङको व्यवस्था गर्ने भन्दै कर छुट लिएका घरहरूले भुईँ तलामा व्यवसाय गरिरहेका छन् । मेयर धनराज आचार्यले आफूहरूले छुट्टै जग्गाको व्यवस्था गरिरहेको र अब पार्किङबाट पैसा नउठाउने बताएका छन् । त्यसका लागि विभिन्न ठाउँमा जग्गा सम्म्याउने काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *