बढ्दैछ चिसाे : जनतालाई शीतलहर र हिमपातबाट जोगाउन के छ सरकारको तयारी ?

काठमाडाैँ । अहिले देशभर चिसो बढिरहेको छ । वर्षेनि चिसोका कारण ज्यान गुमाउने हरूको संख्या बढ्दै आएको छ । हिउँदको चिसो मौसममा खास गरी तराई क्षेत्रमा हुस्सु र शीतलहर चल्ने गरेका छ । त्यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातका कारण हिमपहिरोलगायतका प्राकृतिक विपद् देखिने गरेको छ । त्यस्तै यो मौसममा चिसोका कारण श्वास प्रश्वाससम्बन्धी समस्या, रुघाखोकि, निमोनियाजस्ता स्वास्थ्य समस्या धेरैमा देखिने गर्छ । यही कारण कतिपयको मृत्युसमेत हुने गरेको छ । हुनत चिसोले सबैलाई असर गर्छ तर बालबालिका, वृद्धवृद्धा र रोगी व्यक्क्तिनै बढी प्रभावित हुने गर्छन् ।

विशेषगरी गरिब, सर्वहारा, सुकुम्बासी, सडकमै बसेर जीवन चलाइरहेका व्यक्तिहरुको समूह, तराई भेगमा फिरन्ते जीवन जीउने बञ्जारालगायत समूहका व्यक्ति चिसोले समस्यामा पर्ने गरेका छन् ।

चिसोबाट बच्च आवश्यक बाक्ला र न्याना लुगा, सुत्नका लागि चाहिने सिरक, डस्ना, बस्नका लागि न्यानो आवास जस्ता साधनको अभावमा धेरैले चिसो मौसममा प्राकृतिक विपद्को सामना गर्नु परिरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकै तथ्यांकलाई हेर्ने हो भने विगत १० वर्षयता मात्र ११६ जनाको शितलहर र १२ जनाको हिमआँधीका कारण मृत्यु भएको छ । हिमपात र हिमपहिरोका कारण यो वर्ष ३ जनाको मृत्यु भइसकेको छ ।

२०७१ असोज २८ मा मनाङ, मुस्ताङ र हिमाली क्षेत्रमा आएको हिमआँधीमा परेर ४३ जनाको ज्यान गएको थियो । उक्त घटनामा करिब ५० जना बेपत्ता भएका थिए भने ४०० जनाको सफल उद्दार गरिएको थियो । जसमध्य २१ जना पदयात्री थिए ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शीतलहर, तुसारो, हुस्सु तथा हिमपातका कारण ठुलो भौतिक र मानवीय क्षति हुने गरेको छ । यद्यपि यसको ठोस अभिलेख हुन सकेको छैन ।

यस्ता घटनामा कमी ल्याउन प्राधिकरणले आगामि दिनमा सम्भावित घटनाको तथ्यांक सङ्कलन गरी आवश्यक सुविधा प्रदान गरिने बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकृत डा. डिजन भट्टराईका अनुसार चिसोका कारण हुनसक्ने विपद व्यवस्थापन गर्न अहिले प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग मिलेर काम गरिरहेको छ ।

समितिहरूले आफ्ना गाउँ, समाजमा भएका जोखिम र समस्याहरूको तथ्यांक सङ्कलन गर्ने साथै आवश्यकताअनुसार जोखिममा रहेका व्यक्तिलाई सेवा दिँदै जाने भट्टराईले बताए ।

उनका अनुसार हिमाली, पहाडी र तराई क्षेत्रमा फरक फरक खालका समस्या हुनेगरेकाले प्रभावित व्यक्तिहरूलाई त्यहि अनुसारको लत्ताकपडा, खानेकुरा र औषधि जस्ता सामानहरू वितरण गरिनेछ । भन्छन् ‘स्थानीय स्रोतले आवश्यकता अनुसार जोखिम प्रभावित व्यक्तिलाई सहयोग प्रदान गरिने छ ।’

प्राधिकरणले यस पटक पनि ‘सम्भावित हिमपात र शीतलहर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ को योजनाअनुसार नै काम गर्दै आएको छ । उक्त योजनामा जोखिमयुक्त घरपरिवारको पहिचान गर्ने, हिमपात, चिसो तथा शीतलहरबाट बच्न जनचेतनाका कार्यक्रम सञ्चालन गरिने, खोज, उद्दार र आवश्यक सेवा सञ्चालन र तत्कालिन राहतको पूर्वतयारी गर्ने जस्ता विभिन्न कामहरू गर्न योजना बनाएको छ ।

भट्टराईका अनुसार प्राविधिकरणसँग योजना भए पनि कार्यान्वयनको समय भने निश्चित गरिएको छैन ।

प्राधिकरणले आवश्यकता अनुसार खाद्यान्न, न्यानो कपडा, कम्बल, दाउरा, काठ, बायोमास, हिउँ पन्छाउने सामग्रीलगायत वितरण गर्ने योजना अनुसार काम गरिरहेको उनले बताए । उनी भन्छन्– ‘कसलाई के समस्या छ अवस्था बुझेर उपलब्ध साधन स्रोतको वितरण पहिल्यै गर्ने प्रयास गरेका छौँ ।’

यसबाहेक प्राधिकरणले स्थानीय र जिल्ला व्यवस्थापन समितिलाई जोखिम न्युनीकरण गर्न सहयोगका लागि आवश्यक परे संघीय सरकारसँग सहयोगका लागि माग गर्ने बताएको छ । जनतालाई शीतलहर र चिसोबाट बच्न आग्रह गर्दै प्रधिकरणले विभिन्न जिल्लामा हिमपात र शीतलहरका जोखिमको अनुमान गरेको छ ।

शीतलहरबाट प्रभावित हुनसक्ने अनुमानित जिल्लाहरू
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईका २२ जिल्लामा वर्सेनी शीतलहरको प्रकोप देखिने गरेको छ । सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम र कपिलवस्तुमा बढी प्रभाव पर्ने बताएको छ ।

झापा, मोरङ्ग, उदयपुर, चितवन, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चपुर गरी ११ जिल्लामा कम प्रभाव पर्ने अनुमान गरिएको छ ।

हिमपातबाट प्रभावित हुनसक्ने जिल्लाहरू
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ्, दार्चुला धादिङ, रामेछाप, गोरखा, रुकुम(पूर्व), म्याग्दीमा हिमपातको प्रकोप देखिन्छ ।

यसबाहेक चिसोको जोखिम देशभर हुने भएकाले व्यक्ति र परिवार आफैँ सचेत रहनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *