अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा नेपाल टाइम्सका सञ्चालक पक्राउ
विराटनगर । विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सहेन्शा सिद्धिकी भनिने अब्दुल खत्ताब पक्राउ परेका हुन् ।
अपहरण तथा शरीर बन्धक मुद्दामा खत्ताब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पुर्याई दबावमा पारेर १५ लाख रुपैयाँ असुलेको भन्दै उद्योगी राठीले प्रहरीमा उजुरी दिएका थिए । राठीले खत्ताबसहित अन्य २ जना विरुद्ध पनि उजुरी दिएका छन् । राठी पनि सो कम्पनीका सेयर सञ्चालक हुन् ।
अन्तरवार्ता लिने भन्दै फकाएर घरबाट स्कुटरमा ल्याएर कुटपिट गरी बन्धक बनाएको राठीको आरोप छ । प्रहरी समक्ष जाहेरी परेदेखि सम्पर्कविहीन भएका अब्दुललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका खत्ताबलाई आजै जिल्ला अदालत मोरङले अनुसन्धानका लागि ५ दिनकाे म्याद दिएकाे र हाल अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।