पोखरामा वृद्ध महिलाका गहना चोर्ने गिरोह सक्रिय
पोखरा । पोखराका विभिन्न ठाउँमा वृद्धा महिलाहरूको सुनका गहना चोरी गर्ने गिरोह सक्रिय भएको छ । परिवारका अरू सदस्य नभएको मौका पारेर वृद्धाहरूले कानमा र घाँटीमा लगाएका सुनका गहना चोरी गरेको जाहेरी परेको छ ।
९ वृद्धाहरूले कास्की प्रहरीमा जाहेरी उजुरी दिएका छन् । अपरिचित महिला घरमा आएर महिलाहरूलाई फकाउने र घरमा भएका सबै गहना र नगद चोरी गर्ने गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न रहेको आरोपमा पर्वतको मोदी ६ घर भई पोखरा ४ गणेश टोल बस्दै आएकी टिका श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनले चोरी गरेका सामान समेत बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनलाई कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको छ । उनको साथबाट सुनको पोते सहितको १ थान तिलहरी, १ थान औँठी र एक जोर फूली बरामद भएको छ ।
यस्तै, सुनको जस्तो देखिने सिक्री, औँठी र मोबाइल लगायत धातुका गहना र चोरी गर्दा प्रयोग गर्ने गरेको कपडा पनि बरामद भएको तिवारीले बताए । उनी विरुद्ध करिब २७ लाखको गहना र नगद चोरी गरेको आरोप छ ।