पोल्यान्डका रेफ्रीले खेलाउनेछन् विश्वकप फाइनल
काठमाडौं । पोल्यान्डका सिमोन मार्सिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
४१ वर्षीय मार्सिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्सिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् ।
मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल खेलाएका थिए । उक्त खेलमा फ्रान्सले २-१ को जित दर्ता गरेको थियो । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।
कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन् ।