रञ्जितालाई ५ प्रश्न, भन्छिन्– ‘रेशमजीको रिहाइ नभए सरकार बनाउन सहयोग हुँदैन’
काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले सरकार र सडकमा हारगुहार मागिरहेको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्षसमेत रहेका चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले आम निर्वाचनमा केही सिट जितेपछि बहुमत पुर्याएर अहिलेकै सरकार टिकाउन गठबन्धन दलहरु जोडबलले लागेका छन् । यसका लागि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्ने कोसिस गरिरहेको छ । तर, कुबेलामा सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिबाट समेत उक्त अध्यादेश प्रमाणीकरणमा ढिलाइ हुनुले अध्यादेश अघि नबढ्ने संकेत देखिएको छ । तर, पार्टीकी अध्यक्ष एवं रेशमकी श्रीमति रञ्जिता चौधरीले भने आफूहरु सरकारमा जानका लागि पहिलो सर्त नै रेशमको रिहाइलाई बनाएको बताइएकी छन् । अध्यादेश प्रमाणीकरण नहुने, रेशम जेलबाट नछुट्ने अवस्था आए नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल होला कि नहोला ? अथवा प्रतिपक्षमा उसको कस्तो भूमिका होला ? यिनै विषयमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मकालुखबरले ५ प्रश्न सोधेको छ ।
१. वर्तमान सरकारले तपाईंको श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई छुटाउन कानुन नै उल्ट्याउन खोज्नुको कारण के हो ?
कुनै पनि पार्टीका नेता तथा सरकारमा सहभागी नेताहरूसँग अहिलेसम्म म पुगेर भेटेको छैन । यो अध्यादेश आयो यो विषयमा छलफल मसँग भएको होइन। रेशम जीसँग नै दलका नेताहरूले कारागारमा भेटेर कुराकानी गर्नुभएको रहेछ । जेल पुरेर उहाँहरूले कुरा गर्नु भएको रे उहाँसँग तपाईंलाई न्याय दिन्छौँ भनेर कुरा गर्नुभएको छ रे । हामीलाई न्याय चाहिएको छ उहाँहरूलाई हामी।
२. जेलमा रेशम चौधरीसँग नेताहरूले भेटेर के कुरामा छलफल गरेका छन् ?
उहाँहरू सकरात्मक हुनुहुन्छ । हामी निर्दोष छौँ । र हाम्रा निर्दोष बन्दीहरूलाई छुटाउनु पर्छ भन्ने हाम्रो माग हो । हामीले उहाँहरूलाई बन्दीलाई छुटाएपछि मात्र के गर्ने कसो गर्ने भन्ने कुरामा जान्छौँ । न्याय खोजेका छौँ उहाँहरूबाट ।
३.सरकार बनाउनकै लागि कर्तव्य ज्यान मुद्दाका दोषी रेशमलाई कानुन नै उल्ट्याएर छुटाउने कुरा त संविधान र कानुनविपरीत हो जस्तो लाग्दैन ?
उहाँको टीकापुर घटनामा संलग्नता छैन । जो व्यक्ति घटना हुँदा घटना स्थलमा नै छैन त्यो व्यक्तिलाई हत्याराको आरोप लगाइएको छ यो त अचम्मको कुरा हो । रेसम जी टीकापुर घटना हुँदा बर्दियामा हुनुहुन्थ्यो, फरक जिल्लामा भएको व्यक्तिलाई आरोप लगाइएको छ यो झुटो र तथ्यहीन आरोप हो । हाल यो केशमा जति पनि कारागारमा छन् उहाँहरू कोहीको पनि यो केसमा संलग्नता छैन ।
४. तर गठबन्धनलाई तपाईंहरुले उहाँलाई छुटाए सरकार गठनमा सहयोग गर्छौं भन्नु भएको छ रे हो ?
सरकारमा सहभागी गराउने नगराउने विषयमा केही कुरा चलेको छ यो साँचो हो । सिट पुर्याउनका लागि मात्र उहाँलाई छुटाउन लागेको चाहिँ होइन । उहाँ निर्दोष भएका कारण न्याय दिन पनि सरकारले पहल गरेको हो । यो जनताको लागि खुसीको खबर हो । यो खबरले पच्चिस तराईका र अन्य जिल्लाका जनता पनि खुसी हुनुहुन्छ । चुनाव सकिएको छ सरकारमा जाने सिटको जोड घटाउन हुन्छ नै । यसमा पनि राम्रो र हाम्रो पार्टीसँग सहकार्य गर्ने पाउनु उहाँहरूलाई पनि फाइदाको कुरा हो । यो कुरा देश र जनताको लागी जायज छ ।
५. वर्तमान गठबन्धन सरकारले रेशमलाई छुटाउन सकेन भने उहाँहरूले बनाउने सरकारमा जानु हुन्छ कि हुन्न ?
हाम्रो माग भनेको रेशम जी निर्दोष हुनुहुन्छ र उहाँलाई रिहाइ गर्नुपर्छ भन्ने हो । जो टीकापुर घटनामा दोषी ठहर भई हाल जन्मकैद र अन्य सजाय भोगिरहेका छन् सबैको रिहाइ भएन भने हामी सरकार गठन गर्ने सहयोग गर्ने सक्दैनौँ । र सरकारमा जादैनौँ । उहाँहरूको रिहाइ भए हामी सरकारमा जान्छौँ । हाम्रो माग पीडितले न्याय पाउनु पर्छ भन्ने हो । रेशमजीको रिहाइ नभए सरकार बनाउन सहयोग हुँदैन यो हाम्रो पार्टीको धारणा हो ।