कतार विश्वकप : आज तेस्रो स्थानको लागि भिड्दै क्रोएसिया र मोरक्को

काठमाडाैँ । विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोली दोस्रो पटक भिड्न लागेका हुन् ।

पहिलो खेलमा गोलरहित खेलेका थिए । मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो ।

यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए ।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको थियो । उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो ।

यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन । मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो भने क्रोएसिया र बेल्जियमले बराबरी खेलेका थिए ।

विश्वकपको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना आइतबार राति भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *