कांग्रेस संसदीय दलकाे निर्वाचन बुधबार, देउवालाई नेता फकाउन भ्याइनभ्याइ
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि ६ पुसमा निर्वाचन हुने भएको छ । कांग्रेस सहमाहामन्त्री तथा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार सोमबार (आज) निर्वाचन कार्यतालिका सार्वजनिक गरेर ६ गते बुधबार निर्वाचन हुने भएको छ ।
कांग्रेसले आइतबार संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । सहमहामन्त्री आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोकेको आङ्देम्बेले बताए ।
अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा मात्र देखिएका छन् । तर स्रोतका अनुसार नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा दाबी गर्दै आएकाले आफ्नो समर्थनमा कोइरालालाई ल्याउन देउवाले लविङ गरिरहेका छन् । संसदीय दलको नेतामा देउवालाई हालसम्म कोइरालाले समर्थन गरेका छैनन् । तर, कोइराला पनि देउवालाई नै समर्थन गर्ने तयारीमा रहेका छन् । यसअघि काेइरालाले आफू नहुने अवस्थामा महामन्त्री गगन थापालाई संदस्य दलको नेता बनाउन समर्थन गर्ने चर्चा चलेको थियो ।
देउवाले आगामी महाअधिवेशनमा सभापति बन्न सहयोग गर्ने आश्वासनसहित कोइरालाई हाल आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् ।
यस्तै, प्रधानमन्त्री बन्ने इच्छा देखाएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि देउवाले राष्ट्रपति बनाउने आश्वासन दिएर फकाइरहेका स्रोतको भनाइ छ । पौडेलले केही दिनअघि मात्र बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए ।
कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता नै हुनुपर्ने विधान भएकोले अहिले संसदीय दलको नेतामा चयन हुने नेताले नै प्रधानमन्त्री बन्न पाउने छन् । त्यसो हुँदा कांग्रेस संसदीय दलको नेताको निर्वाचनलाई प्रधानमन्त्रीको उम्मेदवार छान्ने निर्वाचनको रुपमा समेत लिइने गरेको छ ।