दुर्घटना बढेपछि जहाँ स्थानीयले राजमार्गमै लाख बत्ती बाले
विराटनगर । सोमबार साँझ करिब साँढे ६ बजेको थियो । बुढिगंगा गाउँपालिका वडा नम्बर १ को शान्ति चोकमा सर्वसाधारणको ठुलो भिड थियो । कोशी राजमार्ग अन्तगत पर्ने यो क्षेत्रमा सर्वसाधारण सडक छेकेर नै केही गरेको जस्तो देखिन्थ्यो ।
स्थानीयको त्यो भिडले सवारी साधन आवत जावतलाई नै समस्या गर्दै गरेको देखिन्थ्यो । त्यो सडक भएर हिँड्ने जो कोहीलाई पनि के भएको होला भन्ने अन्यौलता बिच आफ्ना सवारी साधनहरू बिस्तारै रोक्थे अनि मान्छेहरूको भिड हेर्दै आफ्नो यात्रा तय गर्दै थिए ।
रोडमा ५ लाख बत्ती राखिएको थियो । त्यसको पूर्व तर्फको एउटा घरमा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा, विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भीम पराजुली तथा वडा अध्यक्षहरू माला पहिरिएर लामबद्ध थिए ।
त्यही बिचमा एकाएक सडकमा भजन कीर्तन सुरु भयो भने पूर्व तर्फ जन प्रतिनिधि रहेको ठाउँमा भाषण सुरु भयो । एकै पटक सुरु भएको यो कार्य यहाँका स्थानीयले आयोजना गरेको धार्मिक कार्य थियो । शान्ति चोकमा सधैँ जस्तो दुर्घटना हुन थालेपछि श्रीमद्भागवत गीता पाठ गरिएको स्थानीय बताउँछन् ।
दुर्घटनाबाट स्थानीयको ज्यान नजाओस् भनेर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै ५ लाख बत्ती बालिएको स्थानीय अच्युत आचार्यले बताए । पाठ पारायण सहितको धार्मिक पुण्यको काम भएको उनले सुनाए ।
गत मङ्सिर १७ गते शनिवारदेखि पुस ५ गते मंगलबारसम्म बिहान ७ देखि ९ बजेसम्म श्रीमद भागवत गीतामा आधारित विज्ञानमय प्रवचन भएको थियो । प्रवचनमा अरविन्द शास्त्री महाराजले प्रवचन दिएको स्थानीय बताउँछन् ।