गण्डकीमा पहिला संसद् बैठक, त्यसपछि सरकार गठन
पोखरा । निर्वाचन आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको छ । नतिजा सार्वजनिक भएसँगै सांसदको शपथ ग्रहण, संसद् बैठक र सरकार गठनका प्रक्रिया खुला भएका छन् । प्रदेश प्रमुख निकट श्रोतका अनुसार १४ गतेभित्रै शपथ गराउने र लगत्तै संसद् बैठकको आह्वान हुने छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार र संसद् सचिवालयका जानकारसँग पनि परामर्श लिएका छन् । उनले आइतबार मुख्य न्यायधिबक्तासँग परामर्श लिएका थिए भने सोमबार संसद् सचिवलाई बोलाएका थिए । परामर्शका क्रममा उनीहरूले शपथपछि नै सरकार गठनको प्रक्रिया थाल्न सुझाव दिएका हुन् । संविधान अनुसार निर्वाचनको अन्तिम मत परिणाम आएको मितिले २० दिनभित्र पहिलो बैठक बोलाउनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरेपछि शपथ अघि नै सरकार गठन गलत हुने भन्दै आलोचना भएको थियो । गण्डकीमा भने शपथ पछि नै सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ ।
गण्डकीमा कुनैपनि पार्टीको एकल सरकार बन्ने अवस्था छैन । त्यसैले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन हुनेछ । तर केन्द्रको राजनीतिमा प्रदेश सरकारको जोडघटाउ हुने भएकोले सबै दलहरू पर्ख र हेरको अवस्थामा छन् । कांग्रेस गण्डकीले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले पदाधिकारीलाई निर्वाचन समिति गठनको अधिकार दिएको हो ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । माओवादीले भने अब आफ्नो पालो भएको दाबी गरेको छ । यसअघिको सरकारको नेतृत्व कांग्रेसले गरेका कारण अब माओवादीले पालो पाउनुपर्ने धारणा सांसद हरिबहादुर चुमानको छ ।
गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो, २२ सीट सहित एमाले दोस्रो, ८ सीट सहित माओवादी तेस्रो, २ सीट सहित राप्रपा चौथो र १ सीटको एकीकृत समाजवादी पाँचौँ पार्टी बनेको छ । मनाङबाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।