बदलिँदैछ दृष्य : देखियाे नयाँ समिकरणकाे संकेत

काठमाडौँ । राष्ट्रिपति भवन शीतल निवासमा बुधबार एक फरक र रोचक दृष्य देखियो । निर्वाचनअघिसम्म पानी बाराबार गरेर एकअर्काको उछित्तो काढेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल आमुन्नेसामुन्ने बसेर कुरा गरेको देखियो । यो दृष्य अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चुनावपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरिसकेको, नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले नै जितेर नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा आफैँलाई अघि सारिसकेको पृष्ठभूमिमा यी तीन बाम नेताबीचको कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति कार्यलयमा उपस्थित एक नेताले भने, ‘गफमा पुरानो मित्रता भल्किएको थियो । ओली ज्यूले निकै चासो र खुसीका साथ दहाल र खनालसँग कुरा गर्नुभयो । दाहाल बिचमा भएकाले ओली र झलनाथले कुरा गर्दा ओली केही कोल्टिने र झलनाथले ओलीलाई प्रश्न गर्दा कोल्टिएर गर्ने गर्नुभयो । समग्रमा आज उहाँहरु धेरै जसो तिनै जना आमुन्ने सामुन्ने बसेर कुरा गर्नु भयाे ।’ ती नेताका अनुसार कुराकानी गर्दा तीनैजनाको अनुहारमा खुसी र मित्रता झल्किएको देखिन्थयो अरुबेलाको तुलानामा उहाँहरु निकै खुसी र रोचक देखिनु भयो ।

राजनीतिक वृत्तिका धेरैको आशंका छ– कतै माओवादी केन्द्र मिलेर बनेको पहिलाको नेकपामा आवद्ध दलहरुको सत्ता समीकरण बन्ने त होइन ?

यसबारे मकालुखबरले सोधेको प्रश्नमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने– ‘सामान्य हालचाल सोधिएको हो । त्यस्तो खास केही कुरा भएको छैन तर ओलीजी  हामीसँग कुरा गर्न इच्छुक हुनुहुन्छ । प्रचण्डजीसँग चाहिँ उहाँ निरन्तर सम्बादमा हुनुहुँदाेरहेछ । हामीसँग चाहिँ समय नमिलका कारण छलफल हुन सकेकाे थिएन ।’

नेता खनालले हालको बाम लोकतान्त्रिक समिकरणलाई नै प्राथमिकता दिएको बताए पनि यी तीन नेताको भावभंगी र कुराकानीले अर्को पनि समिकरणको संकेत गरेको भने प्रष्टै देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *