सर्वोच्चले ४ वर्ष पहिले नै भनेको थियो – ‘शोभराजका विषयमा आवश्यक निर्णय गर्नु, गोलघरमा नराख्नू’

काठमाडौं । १९ वर्ष गोलघरमा बिताएपछि ‘सिरियल किलर’ चाल्र्स शोभराजले ५ प्रतिशत कैद छुट पाएका छन्। काठमाडौंमा अमेरिकी महिलाको हत्या गरेको कसुरमा जिल्ला अदालत भक्तपुरले उनलाई सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो।

शोभराजले १९ वर्ष बढी कैद भुक्तान गरिसकेका छन्। उनले २०८० असोज २ गते सबै कैद भुक्तान गरिसक्ने थिए। तर जेष्ठनागरिक तथा गम्भीर रोगका विरामीले पाउने कैद छुट माग्दै उनी ९ महिना पहिले नै कैद मुक्त हुने भएका हुन्।

केन्द्रीय कारागारले उनलाई छाड्ने तयारी गरेको छ। सर्वोच्चले आजै छाड्न आदेश दिएको छ। प्रक्रिया पूरा भए आजै राति नभए बिहीबार बाछिसक्ने कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए।

अदालतले शोभराजलाई कैद छुट दिने विषयमा यो तेस्रो आदेश हो। यसअघि २०७५ सालमा पनि सरकारले उनको विषयमा ३ महिनाभित्र उचित निर्णय लिन भनेको थियो। त्यस अनुसार सरकारले उनको विषयमा कुनै निर्णय गरेको थिएन।

गत वैशाखमा पनि गृह मन्त्रालयलाई आवश्यक निर्णय एक मसिहनाभित्रमा गरिसक्न आदेश दिएको थियो। तर गृहले सर्वोच्चको आदेश अनुसार कुनै निर्णय गरेको थिएन। त्यसअघि मुटुका रोगी शोभराजलाई गोलघरमा नराख्न समेत भनेको थियो। तर कारागारमा उचित स्थानको व्यवस्थापन गर्न समस्या रहेको भन्दै उनलाई गोलघरमै राखिएको थियो ।

शोभराज मुटुका बिरामी छन्। उनको अप्रेस गर्नु पर्ने र अहिले पनि औषधि सेवन गरिरहेको रिटमा उल्लेख छ। यसअघिका आदेश सरकारले कार्यन्वयन नगरेपछि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाल श्रेष्ठको संयुक्त इजलासले समय तोकेरै उनलाई छाड्न र स्वदेश फिर्ता गर्न भनेको हो।

आदेशमा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिन भित्रमा आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत यो आदेश जारी गरिएको छ।’ सम्बन्धित जिल्ला अदालत मार्फत आदेश कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा छिटो साधनद्धारा आदेशको जानकारी पठाइदिन पनि सर्वोच्चले भनेको छ।

यस्तो छ आदेशको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *