शपथ लिए लगत्तै सीके राउतको एक्सन, ५ निकायलाई काटे पत्र
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिए लगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न ५ निकायलाई पत्र काटेका छन् ।
सप्तरी २ बाट निर्वाचित डा। राउतले सप्तरीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई, सगरमाथा अञ्चल अस्पतालको सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटेका छन् ।
यस्तै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरीकाले सुचारू गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई र किसानको लागि थप मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडलाई पनि सांसद राउतले पत्र काटेको उनको सचिवालय फेसबुक पेजमा उल्लेख छ ।
उनले जनताको माग पुरा गराउन सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।