प्रदेश १ : एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता छान्ने तयारी

विराटनगर । नेकपा एमालेको संसदीय दलको बैठक आज विराटनगरमा बस्दैछ । प्रदेश १ मा सबैभन्दा ठुलो दल नेकपा एमालेको दलको बैठक बस्न लागेको नेकपा एमालेको प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । प्रदेश सभाले सोमबार प्रदेश सभा सदस्यको शपथको लागि  आव्हान गरेसँगै एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमालेले प्रदेश सभाको सदस्यले शपथ नलिँदै बैठक बोलाएको भएपनि अन्य दलहरूले संसदीय दलको बैठक बोलाएका छैनन् ।  एमालेले आजको बैठकबाट संसदीय दलको नेता छान्ने जनाइएको छ ।

नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ संसद् सहित ४० सिट जितेको छ । एमालेले दलको नेतामा झापा ५(१) बाट निर्वाचित भएका एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई दलको नेता चयन गर्ने गरी तयारी भईरहेको श्रोतले बताएको छ ।  २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका कार्की प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमालेको ४० सिट रहेको छ ।

कुनैपनि दलले बहुमत नल्याएको कारण कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन नभएपनि एमालेले आफ्नो तयारीलाई तीव्र पारेको छ ।  एमालेले चुनावी तालमेल गरेका दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने तयारी गरेको जनाएको छ ।

प्रदेश १ मा सरकार बनाउन ४७ सङ्ख्या पुर्‍याउनु पर्ने अवस्था छ । एमालेका ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, एकीकृत समाजवादीको ४   र जसपाको १ जना प्रदेश सभा सदस्य छन् । यस्तो अवस्थामा कुनैपनि दलले एकल सरकार बनाउन  सक्ने अवस्था छैन ।

मिलिजुली सरकार बनाउँदा एमाले, राप्रपा र जसपा मिल्दा सरकार बन्न सक्ने देखिन्छ । त्यस्तै सत्ता गठबन्धनबाट कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीको मात्र ४६ पुग्ने हुँदा  सत्ता गठबन्धनले समेत जसपालाई साथमा नलिई सरकार बनाउन सक्ने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *