कर्णालीमा कसकाे नेतृत्वमा बन्छ प्रदेश सरकार ?
सुर्खेत । नेकपा एमाले लगायतका दलहरूको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संघीय सरकार बनाउने सहमति भएसँगै कर्णालीमा पनि अबको मुख्यमन्त्री को बन्ने भन्ने विषय चर्चामा आएको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० जना सांसद छन् । यसर्थ कर्णालीमा माओवादी तथा एमाले बहुमतको सरकार बन्ने देखिन्छ । काँग्रेस–माओवादी मिलेर निर्वाचनमा गएको साथै मिलेर सरकार बनाउने तयारी भइरहेको भए पनि केन्द्रमा सहमति नजुट्दा कर्णाली प्रदेशमा के मुख्यमन्त्री बन्ने भन्ने कुरा सतहमा आएको छ ।
नेकपा एमालेबाट मुख्यमन्त्रीका लागि यामलाल कँडेल बलियो दाबेदार हुन् । यस्तै माओवादी केन्द्रबाट राज कुमार शाही र बिन्दमान बिष्टको चर्चा छ । तसर्थ कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनेमा कँडेल र माओवादीको नेतृत्वमा सरकार बनेमा राज कुमार शाह र बिन्दमान विष्ट मध्ये एक मुख्यमन्त्री बन्नेछन् । यद्यपि कस्को सरकार बन्ने भन्ने कुरा केन्द्रको निर्णयमै भर पर्ने देखिन्छ ।