विराटनगरमा आर्थिक गतिविधि बढाउँदै सकियो विराट एक्स्पो 

विराटनगर ।  विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको छ । वर्तमान जटिल आर्थिक अवस्थाका बाबजुद आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न नसकेको स्वीकार गरे। उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले खाली कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तर रूपमा एक्स्पो आयोजना गर्दै आए पनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खड्किरहेको बताए । विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि नेपाल सरकारका सबै निकायहरुमा अनुरोध गरीसक्दा समेत यसतर्फ कसैको चासो नगएको उनको गुनासो छ ।

एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको उनले बताए । उनका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी बिस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशीलताको विकासका लागि नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने विषयहरूमा छलफल भएका छन्  ।

५७ जना विज्ञहरूको उपस्थितिमा भएको प्रत्येक थिमेटिकल सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरूबाट भएको प्रस्तुतिले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको प्याकुरेलको दाबी छ । एक्स्पोमा उद्योग व्यवसायको व्यावसायिक स्वास्थ्य परीक्षण, तदनुरुपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्ग निर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरुमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए ।

एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले बताए । उनका अनुसार ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको दाबी गरे । समापन कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई पुरस्कार गरिएको थियो । जसमा कृषितर्फ सनम फलफूल प्रशोधन उद्योग, उद्योगतर्फ अरिहन्त मल्टिफाइवर्स लिमिटेड, व्यापार अटोमोबाइल होटल तर्फ चन्द्रमा कोसेली तथा मसला उद्योग र प्रायोजक र पेभेलियन अन्तर्राष्ट्रियतर्फ क्याजिक फुटवयरलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *