रविको तीव्र वेग : ‘फर्स्ट एटेम्प्ट’ मै सांसददेखि उपप्रधानमन्त्रीसम्म
काठमाडौँ । नेपालमा एउटा भाष्य जबरजस्त रूपमा स्थापित गरिँदै छ । त्यो हो– राजनीति सम्भावनाहरूको खेल हो । पछिल्लो समय नेपाली राजनीतिमा यो भाष्य सत्य जस्तो लाग्दै छ । यहाँ परस्पर विरोधी वा विपरीत विचार, सिद्धान्त, पृष्ठमूमि भएकाहरु पनि मिल्छन् । समान सिद्धान्त र पृष्ठभूमि भएकाहरू पनि फुट्छन् । सत्तामा जान वा टिक्न जुनसुकै र जस्तोसुकै गठबन्धन पनि सहजै निर्माण भइदिन्छ । यहाँ जुट्ने, टुट्ने अनि टुट्ने र जुट्ने भइरहन्छ । लामो समय राजनीति गरेका राजनीतिक दलहरूले यहाँ सरकारमा जान मरिहत्ते गर्नुपर्छ । राजनीतिमै जीवन सिध्याएकाहरु पनि कहिल्यै लाभका पदमा पुग्न सक्दैनन् । तर, फरक कर्मबाट राजनीतिमा उछिट्एिर आएका काेही भने छोटो समयमै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न पनि सक्षम भएकाे देखिन्छ । यसरी लाभ प्राप्त गर्नेमा सबैभन्दा अग्रपंक्तिमा पछिल्लो समय रवि लामिछाने देखिएका छन् ।
२०७९ साल असारअघिसम्म रवि लामिछाने एक टेलिभिजन प्रस्तोता, टेलिभिजनकर्मी वा सञ्चारकर्मी मात्र थिए । सबैसँग हिसाबकिताब र जवाफ खाेजिरहन्थे । प्रश्न गरिरहन्थे ।
१७ असार २०७९ मा निर्वाचन आयोगमा उनले राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे । पार्टी सभापति बने । उनी राजनीतिक दलको नेता बने । टेलिभिजन कर्ममा रहँदा कमाएको ‘नेम–फेम’ का कारण उनलाई आम जनताको साथ र समर्थन पाउन निकै सजिलो भयो । त्यसपछि आम निर्वाचनको तयारीका लागि उनले राजनीतिक भेटघाट तीव्र बनाए । सभा गरे । सम्मेलन गरे । उनले आयोजना गरेका सभाहरूमा रविलाई हेर्ने ‘क्रेज’ कै कारण पनि भिड जम्मा गर्न गाह्रो भएन । धारा प्रवाह असन्तुष्टि पोख्न सक्ने खुबीलाई उनले आफ्नै पार्टीका मञ्चहरूमा प्रयोग गरे । आम नागरिकको वाहवाही र ताली पाउन गाह्रो भएन ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा उनले देशका विभिन्न स्थानबाट प्रतिनिधि सभामा आफ्ना उम्मेदवार उठाए । प्रदेशसभामा उनले एक जना पनि उम्मेदवार उठाएनन् । निर्वाचन प्रचार प्रसारमा उनी घण्टी लिएर मैदानमा दौडिए । घोक्रो सुक्ने गरी धाराप्रवाह भाषण गरे । आम जनताले पत्याए ।
पार्टी स्थापनाको ६ महिना पनि नबित्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनले आफूसहित ७ जनालाई विजयी बनाउन सके । अर्थात् उनको पार्टीले प्रत्यक्षतर्फ ७ सिटमा विजय प्राप्त गर्यो । समानुपातिक निर्वाचन प्रणालीबाट १३ पाए । उनको पार्टी कुल २० सिटसहित स्थापनाको ६ महिनामै चौथो ठूलो दल बन्न सफल भयो । यति छोटाे समय वा ६ महिनामै राजनीतिमा रविले पाएको यो सफलता चानचुने होइन ।
तीव्र वेगको उडान भरेका रवि त्यतिमा मात्रै सीमित रहेनन् ।
प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुस आइतबारका दिन अचानक एमालेको साथ खोज्दै ओली निवास बालकोट पुगेपछि त्यहाँबाट रविको पनि बोलावट भयो । तीव्र वेगकै साथ उनी बालकोट उत्रिए । प्रचण्ड नेतृत्वमा सरकार बनाउन २० सिट सहितको चौथो दलको सभापतिको हैसियतले उनले समर्थन जनाए । पार्टीको बैठक राखेर सरकारमा जाने निर्णय गराए । प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाए ।
मन्त्रालय बाँडफाँटका लागि ११ पुस सोमबार नयाँ बानेश्वरमा बसेको सत्तासीन ७ दलीय बैठकमा उनले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा दाबी प्रस्तुत गरे । २० सिट भएको पार्टीलाई सम्मानजनक रूपमा सरकारमा लैजान चाहेका प्रचण्डले उनको प्रस्तावमा सहमति जनाए । गठबन्धनमा सहमति जुटाए । अनि रवि प्रचण्डको सिफारिसमा राष्ट्रपतिबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भए । सोमबार ४ बजे उनले राष्ट्रपतिबाट उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिइसकेका छन् ।
पार्टी स्थापना गरेर फूल टाइम राजनीतिमा लागको जम्माजम्मी ७ महिनाभित्र नेता, सांसद हुँदै मन्त्री मात्रै होइन, उपपधानमन्त्री समेत हुन भ्याइसके रवि । राजनीतिमा पहिलाे प्रयासमै अर्थात् ‘फर्स्ट एटेम्प्ट’ मै हरेक ठाउँमा यति सफल हुने राजनीतिज्ञ सायदै हाेलान् । रविले लगाएकाे तीव्र वेगकाे याे छलाङ साँच्चै सफल देखिएकाे छ ।
यो तीव्र वेगकाे उडानपछि अब भने रविसँग जनताले परिणाम खोज्ने छन् । उनले गरेका बाचा र कसमहरुको हिसाब खोज्ने छन् । तीव्र वेगका साथ उपप्रधानमन्त्रीसम्मको उडान भरेका लामिछानेले अब जनअपेक्षा अनुसारको ‘डेलिभरी’ दिन पनि उत्तिकै तीव्र वेगका साथ काम गर्नुपर्ने देखिएको छ । अर्थात् उही तीव्र वेगका साथ रविकाे परीक्षा सुरू भएकाे छ ।