प्रदेश-१ मा मन्त्रालयको संख्या घटाउने तयारी, मन्त्री बन्न हानथाप

विराटनगर । प्रदेश १ मा ११ सदस्य मन्त्री मण्डल बनाउने तयारी शुरु भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश १ मा सरकार बन्ने र त्यसको लागि ११ सदस्य मन्त्री मण्डल बनाउने तयारी भएको एमाले निकट श्रोतले जनाएको छ ।

 नेकपा एमाले विभाजनपछि राजेन्द्र राई नेतृत्वको सरकारले प्रदेश १ मा मन्त्री मण्डलको  संख्या १४ बनाएपछि आलोचित भएको सरकारलाई ध्यानमा राखेर अब बन्ने मन्त्री र मन्त्रालयको संख्या घटाउने तयारी गरेको हो  ।

नेकपा एमाले विभाजन पछि नेकपा एकीकृतले प्रदेश १ को सरकारको नेतृत्व गर्ने मौका पाएको थियो । नागरिकको भावना र चाहना बाहिर गएर मुख्यमन्त्री राईले मन्त्रालय विभाजन गरेको आरोप लाग्दै आएको थियो । मंसिर ४ को निर्वाचनलगत्तै सत्ता समीकरण फेरिएपछि प्रदेश १ मा मन्त्रालयको संख्या घटाउने तयारी भईरहेको नेकपा एमालेका नेताहरूले बताउँदै आएका छन् ।

 प्रदेश १ मा सरकार बन्ने तयारी गर्दैगर्दा मन्त्रालयलाई समायोजन गरेर ११ मन्त्रालय बनाएर जाने बारेमा छलफल गरेर जाने जनाइएको छ । श्रोतका अनुसार, ‘अहिले भएको १४ सदस्य मन्त्री मण्डलको काम छैन भन्ने नै हो, अब बन्ने सरकार ११ सदस्यीय बन्न सक्नेछ ।’ कुन मन्त्रालयलाई कसरी समायोजन गर्ने र कसरी मन्त्री मण्डल बनाउने भन्ने बारेमा भने कुनै तयारी भइसकेको छैन ।  नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकार कस्तो र कसरी बनाउने भन्ने बारेमा अन्य दलहरूसँगको छलफलबाट टुंगो लाग्ने बताए ।

यी हुन सक्छन् मन्त्री
केन्द्रीय सत्ता समीकरण फेरिएसँगै प्रदेश १ मा पनि सरकारको गृहकार्य शुरु भएको छ ।  प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपा मिलेर सरकार बनाउने तयारी थालिएको हो ।

एमालेको नेतृत्वमा सरकार बन्दा स्थायी समिति सदस्य एवं संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन् । त्यस्तै सभामुख कसलाई बनाउने भन्ने एमाले भित्र कुनै निर्णय भएको देखिँदैन। यद्यपि अहिलेसम्म सुनसरीका रेवती रमण भण्डारी वा ताप्लेजुङका तिलकुमार मेन्याङ्वो मध्ये एकजनालाई सभामुख बनाउने सम्भावना रहेको एमाले निकट श्रोतले बताएको छ। यिनै दुई मध्ये एकजना सभामुख वा मन्त्री बन्न सक्ने जनाइएको छ ।

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लिलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पिके राई पनि मन्त्रीको दाबेदारका रूपमा देखिएका छन्, दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित धनकुटा  निरन राई र इन्द्रमणी पराजुली पनि मन्त्री बन्ने लाइनमा देखिएका छन् ।

त्यस्तै महिला मन्त्रीको रूपमा  आउँदा भोजपुरकी सिर्जना राई र उदयपुरकी सिर्जना दनुवार पनि चर्चामा छन् । एकजना मन्त्री बन्ने सम्भावना देखिएको छ।  नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती, दुर्गा चापागाईँ,  राजेन्द्र कार्की र गीता तिम्सिना मन्त्री बन्ने चर्चा छ।  त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको अवस्थामा भक्तिप्रसाद सिटौला र जसपाकी एक्ली संसद् निर्मला लिम्बू पनि मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *