महोत्तरीबाट अपहरित सिद्धिकीको उद्धार, फिरौती ९ लाखसहित अपहरणकारी पक्राउ
जनकपुरधाम । महोत्तरीबाट अपहरणमा परेका सिरहाका एक व्यक्तिको प्रहरीले मंगलवार राति उद्धार गर्न सफल भएको छ । प्रहरीले अपहरणमा संलग्न एक भारतीय नागरिकलाई फिरौती रकमसहित पक्राउ पनि गरेका हुन् ।
पुस ९ गते सिरहाको लहान घर भएका इसर सिद्धिकीको महोत्तरीबाट अपहरण गरेको थियो । प्रहरीका अनुसार पुस ९ मै काठमाडौँबाट विमानमा जनकपुर आएका इसर सिद्धिकी महोत्तरीको सोहर्वा चोकबाट अपहरणमा परेका थिए ।
अपहरण घटनाको अनुसन्धानमा खटेका मधेश प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले महोत्तरीकै मटिहानीबाट अपहरित इसरको उद्धार गरेको छ ।
साथै अपहरणमा संलग्न भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने बेतहा पर्साका मो. मुकतार शेखलाई ९ लाख फिरौती रकमसहित पक्राउ समेत गरेको बताइएको छ । अपहरणमा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको छ ।
अपहरणकारीले इसरका परिवारसँग ५० लाख फिरौती मागेको थियो । तर पछि बार्गेनिङ गर्दा अपहरणकारीले ९ लाखमा झरेका थिए । अपहरितका आफन्तले फिरौती समेत बुझाइसकेपछि प्रहरी उनलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न शेखलाई समेत पक्राउ गर्न सफल भएको छ ।