दाहाल-नेपाल-ओली : २० महिनापछि फुकेको बोली, रिसाउने-फकाउने यस्तो छ नालीबेली
काठमाडौँ । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका तीन नेताको आपसी सम्बन्ध हेर्दा हरकोहीलाई आफ्नो बाल्यकाल याद आउँछ । अझ बालापनमा दौँतरिहरुसँगको सम्बन्ध र स्कुले जीवन याद आउँछ । बालदौँतरीहरु बीच समूह गठन र विघटन यति छिटो हुन्छ कि त्यसको कुनै समय सीमा र नियम नै हुँदैन । एक अर्कासँग रिसाउने, घुर्की लगाउने, नबोल्ने, फेरि बोली फुकाउने, मिल्ने र फेरि रिसाउने । कहिले ग्रुपबाट कुनै साथीलाई ‘आउट’ गर्ने, कहिले ‘इन’ गर्ने । यो क्रम निरन्तर नै चलिरहेको हुन्छ । ठ्याक्कै यस्तै परिदृष्य अहिले नेपाली राजनीतिमा देखिँदैछ । खास गरी ओली–दाहाल–नेपालबीचको सम्बन्धमा । यसमा देउवा पनि मिसिन आइपुग्छन् कहिलेकाहिँ, कहिले भने उनी छुट्छन् ।
यस्तै एउटा रोचक परिदृष्य अहिले देखिँदै छ । चुनावअघि पानी बाराबारको अवस्थामा रहेका नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक परिवर्तनसँगै बोलचाल र भेटवार्ता खुलेको छ । २०७७ पुस ५ मा पहिलो पटक संसद् विघटनपछि प्रचण्डकै पछि लागेर गएका नेपाल भने नयाँ गठबन्धनमा आएका छैनन् । उनीलाई ल्याउन हाल एमालेले नै जोडबल गरिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सात दलीय गठबन्धनको सरकार आइतबार गठन भएपछि माधव नेपाल एक्लिएका थिए । उनलाई एक्ल्याउने काममा केपी ओली र अध्यक्ष प्रचण्डको भूमिका थियो । तत्कालीन पाँच दलीय गठबन्धन सरकारमा सहयात्री माधवकुमार नेपालसँग सल्लाह पनि नगरी प्रचण्डले एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा सरकार गठन गरेका थिए ।
सोमबार प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्व सहयात्री केपी ओली र माधव नेपाल राष्ट्रपति भवनमा सँगै बसकेको देखियो । यसलाई धेरैले ओली र नेपालबीच सहकार्य हुन सक्ने संकेतको रुपमा अर्थ्याए ।
त्यसो त त्यसअघि ६ पुसमा सांसदहरुको शपथ ग्रहणको दिन एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल र केपी ओलीको बोलचाल खुलिसकेको थियो ।बदलिँदैछ दृष्य : देखियाे नयाँ समिकरणकाे संकेत त्यो दिन पनि ओलीले नै खनाललाई सञ्चो विसञ्चो सोधेका थिए । तर उनीहरूको संवाद त्यसअघि पनि फोनमा भएको कुरा सार्वजनिक भइसकेको थियो । २०७८ वैशाख ३० मा ओली र नेपालबिच चपली हाइटमा भेटघाट भएको थियो । त्यसपछि सोमबार मात्र भेट भएर बोलचाल भएको स्रोतले पुष्टि गरेको छ ।
यता ओली र नेपालको बोलचाल भने सोमबार मात्र भएको हो । सो बेला बोली फुकाउने काम ओली नै गरेको त्यहाँ उपस्थित एक नेताले बताए । उनले भने, सँगै बसेका आलीले सानो स्वरमा नेपालको स्वास्थ्यको विषयमा सोधेका थिए ।’ ओलीले नेपाललाई हातले कोट्याउँदै स्वास्थ्य अवस्थाका विषयमा सोधेको उनले बताए । ओलीले भनेका थिए– ‘तपाईँ बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ, अहिले कस्तो छ ?’ यसो भनेपछि नेपालले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका थिए । ती नेताका अनुसार उनीहरूको बेला बेलामा आँखा जुध्ने गरेको र मित्रताको भाव झल्केको थियो ।
त्यस दिनपछि भने नेपालसँग ओलीको निरन्तर वार्ता चलिरहेको छ । मङ्गलबार नै ओलीले एमाले वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई वार्ताका लागि पठाएका थिए । सोपछि एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मङ्गलबार राती एसका अध्यक्ष नेपाल र उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले आफूलाई नसोधी सरकार गठन गरेर आफूलाई एक्लाएको नेपालले बताएका थिए । पौडेलले आफूहरूसँग मिलेर सरकारमा सहभागी हुन नेपाललाई अनुरोध गरेका थिए । जवाफमा माधव नेपालले ‘सोचौँला’ भनेर सकारात्मकता देखाएको स्रोतले बताएको छ । त्यसयता माधव नेपालसँग एमालेका नेताहरूले भेटेर निरन्तर संवाद गरिरहेको स्रोतको भनाइ छ ।
बुधवार बिहान एमाले नेता महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर माधवकुमार नेपाललाई भेटी सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए । त्यसपछि बुधबार बिहान ललितपुरको हात्तीवनमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका छन् । नेपालले प्रचण्डसँग चित्त दुखाएको कुरा मिडियामै व्यक्त गरेपछि प्रचण्ड नेपाललाई फकाउन पुगेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले देउवाको एकलौटी शासनबाट आफू आजित भएर एमाले, राप्रपा, रास्वपालगायतसँग मिलेर सरकार गठन गरेकोले आफूसँग नरिसाउन भनेका थिए । जवाफमा नेपालले ‘तपाईं त खतरा खेलाडी हुनुहुँदो रहेछ’ भनेका थिए । त्यसको जवाफमा प्रचण्डले नेपालको एकीकृत समाजवादीलाई सँगै लिएर गएको भए ओली रिसाउने भएर ओलीलाई फकाउँदै समाजवादीलाई समेट्ने कुरा सुनाएका थिए । उनले आफूले नेपाल खनालको साथ नछोडेको र छिट्टै समेट्ने ढाडस दिएका थिए । त्यसलगत्तै उनले ओलीसँग वार्ताका लागि नेपाललाई प्रस्ताव गरेका थिए ।
उक्त मिटिङपछि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे । खुमलटारमा ओलीले नेपालसँग वार्ता गर्न आफू तयार रहेको बताएपछि माधव नेपाललाई पनि प्रचण्डले डाकेकाे स्राेतले बताएकाे छ । त्यसपछि नेता नेपालले पार्टीमा छलफल गरेर धारणा बनाउने भन्दै पार्टीका नेता कार्यकर्तासँग भर्चुअल छलफल थालेका छन् ।
खुमलटारमा साढे २ घण्टा प्रचण्ड र ओलीबीच बार्चा भएपछि ओली बाहिरिएका छन् ।
स्रोतका अनुसार ओली र माधव नेपाललाई मिलाउने विभिन्न विकल्पबारे प्रचण्डले छलफल चलाएका छन् । ओलीले पनि नेपाललाई ‘जे भयो भयो मिलेर जाऊँ’ भन्ने कुरा गरिरहेका छन् । उनीहरूको छलफल सकारात्मक रहेको छ । माधव नेपालले केही अडान कायम राखेका छन् । स्रोतले भन्यो , ‘ओली र प्रचण्ड माधवजीलाई फकाइरहनु भएको छ । उहाँ धेरै लचिलो र सकारात्मक हुनुहुन्छ । कुरा मिल्ने अवस्था छ ।’ स्रोतले थप्यो हाल पार्टी नै एकता नभए पनि मिलेर जाने कुरा चलेको छ । पार्टी एकताको सम्भावनाका विषयमा पनि छलफल चलिरहेको छ ।
के भन्छन् एस र एमालेका नेता ?
नेकपा एसका सम्मानित नेता झालनाथ खनालले एमाले माओवादीसँग पार्टी एकता नभए पनि सहकार्य गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनले यो सरकारको कार्यशैली हेरेर सहकार्य हुन सक्ने सङ्केत दिएका छन् । मकालुखबरसँगको कुराकानीमा उनले भने– ‘हाल पार्टी एकता नै नहोला तर सहकार्यको सम्भावना छ । ओलीजी लचिलो हुनुभएको छ । कम्युनिस्ट पार्टीहरू जहिले भए पनि एक त हुनपर्छ । तर हामीलाई हतारो थिएन उहाँहरू सकारात्मक हुनुहुन्छ । मिल्न नै आएपछि त हामीले पनि एकोहोरो त हुनुभएन छलफल चलिरहेको छ ।’
यस्तै, यता नेकपा नेपालेका नेता सुवासचन्द्र नेम्बाङले पनि नेकपा एकीकृत समाजवादी पनि सरकारमा आउने सङ्केत दिएका छन् । उनले निरन्तरको संवादमा एसका नेताहरू सकारात्मक रहेको बताएका छन् । एमाले पनि आफ्नो पुरानो सहयात्रीहरूलाई रुवाएर बस्न नसक्ने भएकाले मिलेर जाने बताए । उनले मकालुखबरसँग भने, ‘उहाँहरूले पनि पुराना कुरा बिर्सिएर मिल्न आउनु पर्छ हामी पनि मिल्न र उहाँहरूलाई समेट्न तयार छौँ । जहिले पुराना कुरामा अलमल बस्न भएन । पार्टी एकता बिस्तारै होला तर एस पनि हाम्रो गठबन्धनमा आउँछ । र, हामीले ल्याउन नै अध्यक्ष ओलीलाई वार्ताका लागि पठाएका हौँ ।’