अमृत अर्याल जसलाई आफ्नै प्रस्तावक/समर्थकले भोट हालेनन्
विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा रोमाञ्चक परिणाम देखिएको छ । तीनजनाले उम्मेदवारी दिएकोमा नेपाली कांंग्रेसका प्रदेश सभापति उद्धव थापा निर्वाचित भएका छन् । उनले १८ मत ल्याएर निर्वाचित भए । थापा कृष्णप्रसाद सिटौला लाइनका नेता हुन् ।
त्यस्तै शेरबहादुर देउवाका निकट मानिएका र देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि प्रदेश सभाको सदस्य भएका अमृत अर्याललाई आफ्नै गुटले असहयोग गरेको छ। उनी गुटबाट नै बहिस्कृत हुन पुगेका छन् ।
सधैँ शक्तिमा आउन चाहने अर्यालको लागि संसदीय दलको नेता चयनमा आएको मत परिणामले उनलाई आफ्नै प्रस्तावक र समर्थक मध्ये एकजनाले मत नै हालेनन् । २९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसमा २ मत मात्र अर्यालले प्राप्त गरे ।
कांग्रेसीहरुले अर्यालको उम्मेदवारीलाई आवेगको निर्णय भन्दै आएका थिए । अर्याल आफूसहित प्रस्तावक र समर्थक मध्ये एकजजना गरी दुईजनाले मात्र मत हालेका छन् । अर्याललाई रमेशजंग रायमाझी, ज्ञानेन्द्र कार्की लगायतले नै असहयोग गरेका छन् ।
अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ राम थिए । अर्याल पार्टीका केन्द्रीय सदस्य हुन् । संसदीय दलको नेताका उम्मेदवार मध्ये उनी मात्र केन्द्रीय सदस्य थिए । थापा प्रदेश सभापति हुन् भने केदार कार्की पराजित केन्द्रीय सदस्य हुन् ।
कोइराला समूहबाट उम्मेदवार बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले ९ मत प्राप्त गरेका छन् । उनलाई भने आफ्नो गुटले सघाएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।