नाटक ‘ज्ञानको चिहान’ : शैक्षिक प्रणालीलाई पुनर्जीवन माग

काठमाडौँ । नेपाली शब्दकोशमा चिहानको अर्थ ‘मरेको मान्छे गाड्ने ठाउँ, मसान’ भनेर लेखिएको छ । लेखकले नाटकको नाम नै ‘ज्ञानको चिहान’ राखेर वर्तमान शिक्षा प्रणाली कतिसम्म नकरात्मक हुँदै गइरहेको छ भन्ने देखाएका छन् । शैक्षिक र राजनीतिक परिवेश भएको ‘ज्ञानको चिहान’ नाटकमा शिक्षा क्षेत्रमा भएका समस्यालाई औँल्याउदै शैक्षिक क्रान्ति र गुणस्तरीय शिक्षामा जोड दिइएको छ ।

शैक्षिक विभाग र अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिसँगको सहकार्यमा निर्माण भएको नाटक ‘ज्ञानको चिहान’ मा विविध पात्रहरू छन् । ती पात्रकै माध्यमबाट कथावस्तु अगाडि बढाइएको छ । रैखिक ढाँचामा लेखिएको ‘ज्ञानको चिहान’ नाटक एक राजनीतिक चेतना भएको सन्देश मूलक नाटक हो । नाटकमा वर्तमान शिक्षा प्रणालीलाई बहसमा ल्याउन खोजिएको छ । आजको युगमा पनि हाम्रो शिक्षा प्रणाली पुरानै अवस्थामा रहेकाले सुधार गर्नुपर्ने भनिएको छ ।

वर्तमान विद्यालयहरुले माछा मार्ने सिपलाई शिक्षा नमान्ने, अनुशासनको नाममा विद्यार्थीलाई डर देखाउने, विद्यार्थीको संख्याको भरमा उत्कृष्ट विद्यालय कहलाउने र निजी विद्यालयले शिक्षामा गरेको राजनीति जस्ता समस्यालाई नाटकमा उठान गरिएको छ । साथै विद्यालयकोे गुणस्तर विद्यार्थी संख्यामा होइन, नतिजामा हुन्छ । अङ्ग्रेजी बोलीले शिक्षाको गुणस्तर नाप्न सकिँदैन भन्ने भावहरू नाटकमा पाइन्छ ।

ज्ञानको चिहानले विभिन्न घटनाका माध्यमबाट फोहोरी राजनीति गर्ने विद्यालय होस् वा शिक्षक जोसुकै विरुद्ध आवाज उठाउन दर्शकलाई आह्वान गरिएको छ । साथै चिहान बन्दै गएको हाम्रो शिक्षा प्रणालीलाई पुनःजीवन दिन शैक्षिक क्रान्ति र शैक्षिक बहसको आवश्यकता रहेको देखाइएको छ ।

पुस १३ देखि शिल्पी नाटकघरमा प्रदर्शनमा आएको ‘ज्ञानको चिहान’ नाटकको परिकल्पना पञ्चा सिंहले गरेकी हुन् । लेखनको काम पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरले गरेका हुन् । यसलाई संगीत सापकोटाले निर्देशन गरेका छन् । ‘ज्ञानको चिहान’ नाटक राजनीतिक र शैक्षिक परिवेशमा बनेको भए पनि नाटकमा थोरै प्रेम प्रसंगलाई पनि देख्न सकिन्छ ।

नाटकमा शिक्षाजस्तो अपरिहार्य विषयलाई समेटेको भए पनि आधुनिकतालाई अंगालेकाले बौद्धिक र दुर्बोध्य बनेको देखिन्छ । नाटकारले शिक्षा क्षेत्रमा भएका गम्भीर समस्यालाई उठान गरे पनि समाधान देखाइएको छैन । समाधानको बाटो पहिल्याउन नसक्दा दर्शकहरू खिन्न मुद्रामा देखिन्छन् । यद्यपि, साङ्गीतिक प्रस्तुति र हास्यव्यङ्ग्यात्मक क्रियाकलापले भने दर्शकको मन जित्न सफल भएको देखिन्छ । कलाकारहरूको पोख्त अभिनय र प्रस्तुतिका कारण नाटकले पूर्णता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *